नारायणगोपालले प्रभाकरलाई भने–पुरस्कार पाएको छस् ?



उपेन्द्र अर्याल

शुक्रबार, १७ जेठ २०७६


कलाकार प्रभाकर शर्मा २०३९ सालमा नाचघरमा जागिर खान पुगेका थिए। प्रसिद्ध गायक नारायणगोपाल महाप्रबन्धक थिए। उनले प्रभाकरलाई भेट्नेबित्तिकै सोधे, ‘तैँले पुरस्कार पाएको छस् ?’ उनले छैन भने। त्यसपछि नारायणगोपालले भने, ‘मैले त पाएको छैन, तैँले के पाउँछस् ?’ 


कलाकार तथा निर्देशक हुन्, प्रभाकर शर्मा। ५४ वर्षअघि संखुवासभाको चैनपुरमा जन्मिएका हुन्, उनी। उकाली–ओराली गर्दै उनको बाल्यकाल त्यहीँ बित्यो। शर्मालाई सानैदेखि कलामा रुचि थियो। ‘बाल्यकालदेखि अग्रज दाजुले अभिनय गर्न प्रेरित गर्नुभयो,’ उनी सम्झिन्छन्, ‘गीत गाउन सक्छ भनेर गाउन दिनुहुन्थ्यो। बालकलाकारको भूमिकामा राख्नुहुन्थ्यो।’ गाउँमा स–साना भूमिका निर्वाह गर्दागर्दै पाँच वर्षको हँुदा नहँुदा उनले रंगमञ्चमा काम गर्ने अवसर पाए।

‘पाँच वर्षको उमेरमै रंगमञ्चमा काम गरेँ,’ उनी भन्छन्, ‘संखुवासभामा ‘माहिर बाबुको टाउको’ भन्ने प्रहसन मैले त्यही उमेरमा गरेको थिएँ।’ त्यस बेला उनको घरमा औलो उन्मूलन कार्यक्रमअन्तर्गतको एउटा अफिस थियो। ‘त्यस अफिसमा काम गर्न धनकुटाका भरत जोशी आउनुभएको थियो,’ उनी भन्छन्, ‘जोशी सर धेरै प्रतिभावान् हुनुहुन्थ्यो। उहाँले चैनपुरमा कला क्षेत्रमा काम गर्ने माहौल सिर्जना गरिदिनुभयो।’ 

‘उहाँ आफैँ पनि अभिनय गर्नुहुन्थ्यो, गीत गाउनुहुन्थ्यो,’ शर्मा सम्झन्छन्, ‘उहाँले मभित्र त्यस्तै प्रतिभा देख्नुभएछ। मलाई थुप्रै गीत सिकाउनुभयो।’ जोशी सरको संगतले उनी पनि नाचगान, अभिनयमा रमाउन थाले। स्कुल र गाउँका प्रतिस्पर्धामा सधँै पहिलो हुन थाले। त्यस बेला मालैमाला लगाएर दौरामा पैसा लिएर आएको कुरा अहिलेजस्तो लाग्छ, उनलाई। ‘गाउँमा प्रभाकर सबै कुरामा निपुण छ भन्ने प्रशंसा चल्न थाल्यो,’ उनी भन्छन्। 

दैनिक १२ रुपैयाँको जागिर

२०३१ सालतिर उनको परिवार काठमाडौँ बसाइँ सर्‍यो। काठमाडौँमा उनी नेपाल युवक विद्यालयमा पढ्न थाले। ‘स्कुलपछि आफ्नो पसलमा गएर मादल बजाउने गर्थें,’ उनी सम्झिन्छन्, ‘मलाई मादल बजाउन कसैले सिकाएको होइन, आफैँ सिकेको हुँ। गड गिफ्ट हो भनौँ न।’ एकेडमीमा जागिर गर्ने एक जना उनका गाउँलेले शर्माको प्रतिभा देखेर क्लबमा बोलाए। ‘‘तिमी चिल्ड्रेन सोसाइटीमा आऊ भन्नुभयो,’ शर्मा भन्छन्, ‘मैले संस्थाबारे सोधेँ। उनले नाच्ने, गाउने काम गर्छ भने। म खुशी भएँ।’

आमाबुबाबाट स्वीकृति पाएपछि उनी चिल्ड्रेन सोसाइटीमा आबद्ध भए। ‘संस्थासँग जोडिएर काम गर्न एकदमै उत्साहित थिएँ,’ उनी भन्छन्। संस्थामा पुगेपछि सुनील खरेल, कृष्ण पाँडे, उज्ज्वल भण्डारीलगायत थुप्रै कलाकारसँग उनको भेट भयो। ‘उहाँहरूले मलाई गीत गाउन, डाइलग भन्न लगाउनुभयो,’ उनी भन्छन्, ‘उहाँहरूले जे–जे भने, त्यो–त्यो गरेँ। उहाँहरूलाई मन पर्‍यो र म संस्थाको सक्रिय सदस्य भएँ।’ चिल्ड्रेन सोसाइटीनजिकै बाल सांस्कृतिक परिवार क्लब थियो। ‘मेरो प्रस्तुति देखेर

त्यहाँबाट पनि अफर आउन थाले,’ उनी भन्छन्, ‘त्यहाँ खाजासमेत दिने भएकाले म लोभिएँ। त्यस संस्थामा काम गर्न थालेँ।’ यसरी विभिन्न संस्थासँग जोडिएर उनले काम गर्दै थिए। एक पटक उनी विशेष कामले धरान पुगे। ‘म धरान गएकै बेला राष्ट्रिय नाचघरमा जागिर खुलेछ,’ उनी सम्झिन्छन्, ‘त्यहाँ झण्डै एक महिना अलमलिएँ। जागिर खुलेको थाहै भएन।’ फर्किंदा काठमाडौँको माहौल अर्कै भएको पाए, उनले।

‘म फर्किंदासम्म त सबै साथी जागिर खाइरहेका थिए,’ उनी सुनाउँछन्, ‘उनीहरूका गीत हिट भइरहेका थिए।’ त्यसपछि उनले आफूलाई एक्लो महसुस गरे। ‘कला भनेर सबथोक छाडेर लागेको मान्छे त्यही क्षेत्रमा काम गर्न पाइनँ’ भनेर चिन्तित भए। ‘त्यो बेला मलाई उकुसमुकुस भएको थियो,’ उनी भन्छन्, ‘साथीहरूलाई भेट्न गएँ।’ साथीहरूले एक पटक महाप्रबन्धकलाई भेट्न सल्लाह दिए। त्यस बेला राष्ट्रिय नाचघरको महाप्रबन्धक नारायणगोपाल थिए।

‘नारायणगोपाललाई भेट्ने आँट आएन,’ उनी भन्छन्, ‘म नगएपछि साथीहरूले नै भनिदिएछन्।’ नारायणगोपालले मन्त्रीको तोक लगाएर ल्याएमा केही हुन सक्ने आश्वासन दिएको उनी बताउँछन्। त्यस बेला नाचघर शिक्षा मन्त्रालयअन्तर्गत थियो। मन्त्रीको तोक ल्याउन गाह्रो थियो, उनलाई। गाह्रो यतिसम्म कि ‘शिक्षा मन्त्री को छ ?’ भन्ने सम्म थाहा थिएन। ‘अब नहुने रहेछ भन्ने लाग्यो,’ उनी भन्छन्, ‘नाचघर बाहिरबाटै भए पनि कलाकारिता क्षेत्रमा केही गर्छु भनेर लागिपरेँ।’ 

नाचघरमा जागिर गर्न नपाएको थकथकी थियो। घर जाँदा बुबासँग कुरा गरे।  ‘संयोगले बुबाको साथी गोविन्द मानसिंह शिक्षामन्त्री रहेछन्,’ उनी सुनाउँछन्, ‘अनि, बुबाले कुरा गरिदिन्छु भन्दा निकै खुशी लाग्यो।’ तोक लागेको निवेदन बोकेर उनी नारायणगोपालसामु पुगे। ‘भेट्नेबित्तिकैे उहाँले ‘तैँले पुरस्कार पाएको छस्’ भनेर सोध्नुभयो,’ उनी भन्छन्, ‘‘स्कुल पढ्दाबाहेक पाएको छैन’ भनेँ। अनि, उहाँले ‘मैले त पाएको छैन, तैँले के पाउँछस् ?’ भन्नुभयो।’

त्यसपछि नारायणगोपालले इन्द्रबहादुर मानन्धरलाई शर्माको अन्तर्वार्ता लिन पठाए। २०३९ सालमा अन्तर्वार्ता दिँदा उनी स्कुलमा पढ्दै थिए। ‘अन्तर्वार्ता दिन जाँदा स्कुल ड्रेसमा थिएँ,’ उनी सम्झिन्छन्, ‘जुन गीत राम्रो गाउथेँ, त्यही इन्द्रबहादुरको अगाडि गाएँ।’ प्रस्तुति मन परेपछि उनले नियुक्ति पाए। नाचघरमा दैनिक १२ रुपैयाँ पाउने गरी जागिर खान थाले।

सात दिन सात नाटक

स्कुल र नाचघर दुवैतिर भ्याउन थाले। ‘१० कक्षाको परीक्षापछि पूर्ण रूपमा नाचघरमा काम गर्न थालेँ,’ उनी सुनाउँछन्। नियुक्तिपछि पहिलो पटक ‘श्रीकृष्ण लीला’ नाटकमा अभिनय गर्ने मौका पाए। नाटक साहित्यकार ध्रुवचन्द्र गौतमले लेखेका थिए।

‘त्यसमा मैले गोपीको भूमिका निर्वाह गरको थिएँ,’ उनी सम्झिन्छन्, ‘चरण प्रदान, भुवन चन्दलगायत कलाकारसँग काम गर्ने मौका पाएँ।’ त्यसअघि भुवन चन्दलाई फिल्ममा मात्र देखेको उनी बताउँछिन्। ‘बच्चामा टुँडिखेलमा फिल्ममा मात्र देखेका थिएँ भुवन चन्दलाई,’ उनी भन्छन्, ‘भुवन चन्दसँग काम गर्न पाएकोमा एकदम खुशी थिएँ। उहाँहरूको संगतले अझ अगाडि बढ्ने मौका पाएँ।’

नारायणगोपालको अवधि सकिएपछि नाचघरमा गायक गणेश रसिक आए। रसिक महाप्रबन्धक भएर आएपछि सबभन्दा पहिले ‘भोजन भट्ट’ नाटक मञ्चन भयो। यसमा कृष्ण मल्ल, रवि शाह, भुवन चन्द, सुषमा शाही, राजपाल थापासहित उनको अभिनय थियो। ‘नाटकमा डेविड पात्रको अभिनय गरेको थिएँ,’ उनी भन्छन्, ‘अंग्रेजी सिकाउन आएको एउटा कुक थियो, डेविड। नाटकपछि पत्रपत्रिकामा नाम आउँदा दंग परेँ।’ त्यसपछि खाजा खर्च थप दुई रुपैयाँ पाउन थालेको उनी बताउँछन्।

‘त्यो बेला दुई रुपैयाँमा जे पनि पाइन्थ्यो,’ उनी भन्छन्। समय दिन नसकेर पढाइ बीचमै छोड्न बाध्य भए, शर्मा। पढाइ छाडे पनि कला क्षेत्रमा धेरै सिक्ने अवसर पाएको उनी सुनाउँछन्। ‘भोजन भट्ट’ नाटकपछि उनको तलब बढ्यो। ‘करारमा पनि मेरो तलब ५ सय ५० रुपैयाँ भयो,’ उनी भन्छन्, ‘घरका मान्छे छक्क परे।’

‘रसिक नाचघरमा सात–आठ वर्ष रहे,’ शर्मा थप्छन्, ‘त्यो समय नाचघरको स्वर्ण युग हो। उनले आफ्नो पालामा आफँैले लेखेको ‘के सक्कली के नक्कली’ नाटक मञ्चन गराए। जुन नाटक नेपाली रंगमञ्चमा पहिलो सय दिन चल्ने नाटक भयो।’ रसिकको पालामा ‘घरदेखि बाहिर’, ‘संजोग’ जस्ता नाटकले प्रशंसा बटुलेको उनी बताउँछन्।

पछि शर्मा सयपत्री समूहमा आबद्ध भए। जसले नाटक मञ्चन गथ्र्यो। ‘संस्थामा विकास अमात्य, सम्राट सापकोटा, मीरा थापा, पूर्ण थापालगायत कलाकार थिए,’ उनी भन्छन्, ‘हामीले सात दिनसम्म सात वटा नाटक गर्‍यौँ। नेपाली रंगमञ्चको इतिहासमा नै नयाँ कीर्तिमान स्थापित भयो।’ नाट्य क्षेत्रमा शर्मा अगाडि बढ्दै गए। देशमा बहुदल आपछि भने धेरै कुरा परिवर्तन भएको उनी बताउँछन्। 

राजनीतिक भर्ती 

रमेश ताम्राकार नाचघरको महानिर्देशक भएर आएपछि शर्मा कलाकारबाट सहायक नाटक निर्देशकमा बढुवा भए। ‘त्यस बेलासम्म मैले डाइरेक्टरको ट्रेनिङ पनि लिइसकेको थिएँ,’ उनी भन्छन्, ‘मैले टेलिफिल्म, एड पनि बनाउन थालिसकेको थिएँ।’ समयसँगै रंगमञ्च र टेलिफिल्मलाई उनले सँगसँगै डोर्‍याउन थाले। ‘त्यस बेला मेरो ‘अपराधी को हो ?’

भन्ने टेलिफिल्म हिट भइसकेको थियो,’ उनी भन्छन्, ‘दर्शकबाट पनि राम्रो माया पाएँ।’ उनको टिमले विभिन्न विषयमा डकुमेन्ट्री बनाउन थाल्यो। २०४६ सालको आन्दोलनको बेलामा नाचघरको भवन पनि भत्किएको थियो। तोडफोड भएको थियो। त्यसपछि त्यहाँ खासै कार्यक्रम नभएको उनी बताउँछन् । ‘हल बन्द भएपछि हाजिर गरेर जाने काम मात्र भयो,’ उनी भन्छन्, ‘हामी पनि बाहिर विभिन्न काम गर्न थाल्यौँ।’ महाप्रबन्धक ताम्राकार कार्यकाल सकिएकाले सरुवा भएर गए। ‘पछि हरिहर शर्मा महाप्रबन्धक बनेर आएपछि बन्द भएको हल चलाउनुभयो,’ उनी भन्छन्, ‘उनको पालामा पनि धेरै काम भए।’

हरिहर शर्माको ठूलो प्रयासले नाचघर निर्माण भएको उनी बताउँछन्। कलाकारिता क्षेत्रमा धेरै काम गरेर पनि सुख नपाइएको गुनासो पोख्छन्, उनी। ‘कलाकार भएकोमा आत्मसन्तुष्टि छ,’ उनी भन्छन्, ‘तर, कलाकार भएर गरेको त्यागअनुसार फल पाइएन।’ पछिल्लो समयमा नाचघरमा राजनीतिक नियुक्ति हुन थालेको उनी बताउँछन्।

‘पार्टीका नेताको कर्मथलो बन्यो नाचघर,’ उनी भन्छन्, ‘जागिर खाने थलो बन्यो कला क्षेत्र। अनि, कलालाई बुझ्ने मान्छेको कमी भयो।’ कला क्षेत्रलाई नबुझेको मान्छे नेतृत्वमा आउनु नाचघरको दुर्भाग्य भएको उनी बताउँछन्। ‘नाचघरको नेतृत्व कलाप्रेमीले गरेन भने यसको अस्तित्व जोखिममा पर्ने डर छ,’ उनी भन्छन्। शर्मा अहिले नाचघरमा वरिष्ठ नाट्य निर्देशकका रूपमा  कार्यरत छन् ।

No comments:

Powered by Blogger.