चाइनिज एडिडासले धोका दियो हरिलाई
उपेन्द्र अर्याल
बुधबार, ०४ असार २०७६
पूर्व फुटबलर हरि खड्का हाल महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक छन्। उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका अनुभव बटुलेका छन्। सुरु–सुरुमा फुटबल खेल्न थाल्दा उनीसँग गतिलो बुट पनि थिएन।
नेपाली फुटबल क्षेत्रमा परिचित नाम हो, हरि खड्का। ४४ वर्षअघि झापाको चन्द्रगढीमा जन्मिएका हुन्, उनी। बाल्यकालको पढाइ गाउँकै स्कुलमा भयो। पढाइमा अब्बल थिए। स्कुलमा खेल्ने वातावरण पनि राम्रो थियो। त्यस बेला झापालाई फुटबल खेलका लागि राम्रो ठाउँ मानिन्थ्यो। उनी फुटबल खेल्न रुचाउँथे। तर, परिवारबाट खेल्न अनुमति थिएन। ‘आमाबुबाले फुटबल खेल्ने अनुमति दिनुभएको थिएन,’ उनी सम्झन्छन्, ‘धेरै अभिभावकजस्तै उहाँहरूको इच्छा पनि छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने थियो।’ घरबाट खेल्न छुट थिएन। तर, हरि लुकीछिपी खेल्न जान्थे। स्कुलमा विभिन्न सदनअन्तर्गत खेल भइरहन्थे। ती खेलमा उनको प्रदर्शन राम्रो हुन्थ्यो। उनी राम्रो खेलाडीमा गनिन्थे।
२०४६ सालतिर झापामा मुनाल च्यालेन्ज कप आयोजना भयो। च्यालेन्ज कपमा उनले राम्रो प्रदर्शन गरे। ‘राम्रो प्रदर्शन गरेकाले बेस्ट प्लेयर भएर चाँदीको कप पाएँ,’ उनी भन्छन्, ‘प्रतियोगितापछि रेडियोमा ललितबहादुरको छोरो भनेर बुबाको नाम पनि आयो। छोरोले केही गर्छ भनेर बुबाले खुशीले खेल्नलाई छुुट दिन थाल्नुभयो।’ त्यसपछि उनी भद्रपुरबाट छनोट भएर सान मिगेल कप खेल्न काठमाडौँ आए।
भागमा भारु सात
साधारण परिवारमा हुर्किएका उनीसँग खेलकुदका सामग्री किन्ने पैसा हुँदैन थियो। ‘मसँग न बुट किन्ने पैसा हुन्थ्यो, न जुत्ता किन्ने पैसा,’ उनी सम्झन्छन्, ‘नयाँ लुगा लगाउन पनि दशैँ पर्खिनुपथ्र्यो। किनेको नयाँ लुगा भनेको स्कुलकोे ड्रेस हुन्थ्यो।’
त्यस बेला गणेशराज भण्डारी चन्द्रगढीका एकदमै राम्रा खेलाडी थिए। उनलाई ‘हिरो होन्डा’ उपनामले चिनिन्थ्यो। ‘मलाई खेलकुद क्षेत्रमा अगाडि बढाउन उहाँले ठूलो सहयोग गर्नुभएको छ,’ हरि भन्छन्, ‘उहाँको फाटेको जुत्ता सिलाएर लगाएर खेलेको हिजोजस्तो लाग्छ।’ भण्डारीले उनलाई खेल्न धेरै प्रेरित गर्थे। ‘उहाँले विभिन्न खेल्ने ठाउँमा मलाई लगिरहनुहुन्थ्यो,’ उनी भन्छन्, ‘मैदानमा खेल्ने चान्स पनि दिनुहुन्थ्यो।’
एक समय भण्डारीले उनलाई भारतको सिलीगुडी खेल्न लगेका थिए। उनीहरूको टिमले जित्यो। ‘पैसा बाँड्दा मेरो भागमा सात भारु पर्यो,’ उनी सम्झिन्छन्, ‘फुटबल खेलेर पहिलो चोटि पैसा पाउँदा एकदमै खुशी लागेको थियो।’ आपूmले पाएको सातमध्ये पाँच भारु हरिले बुबाले दिए। ‘बाँकी दुई रुपैयाँको साथीभाइलाई चियाखाजा खुवाएँ,’ उनी भन्छन्, ‘पैसा दिँदा बुबा निकै खुशी हुनुभएको थियो।’ उनका बुबा प्रशिक्षण केन्द्रमा जागिरे थिए। पछि त्यहीँबाट रिटायर्ड भए।
खेलकुदमा बढी ध्यान भएकाले राम्ररी पढ्न सकेनन्, हरिले। ‘पढाइमा रुचि भए पनि फुटबल र पढाइ सँगै लैजान सकिनँ,’ उनी भन्छन्, ‘पढाइलाई आईकममा टुंगाएँ।’ भारत र बंगलादेशका धेरै क्लबबाट खेलेकाले पढाइलाई समय दिन नसकेको उनी बताउँछन्। ‘पूरा समय फुटबललाई दिइन्थ्यो,’ उनी भन्छन्, ‘कति खेर पढ्नु ?’
चाइनिज एडिडासले धोका दिँदा
काठमाडौँ आएपछि उनको भेट भगीरथ आलेसँग भयो। आले उनका पहिलो प्रशिक्षक थिए। उनकै प्रशिक्षणमा हरिले सान मिगेल कपमा राम्रो प्रदर्शन गरेका थिए। सान मिगेल कप ‘युथ टुर्नामेन्ट’ थियो। जो नेपालभर हुन्थ्यो। ‘टुर्नामेन्टमा रनरअप भयौँ,’ उनी भन्छन्, ‘टुर्नामेन्टको बेस्ट प्लेयरलाई जर्मनीको क्लबमा गएर खेल्ने अवसर थियो। राम्रो प्रदर्शन गरेबापत म बेस्ट प्लेयर बनेँ।’ १५ वर्षको उमेरमा जर्मनी गएर खेल्न पाउनु ठूूलो अवसर भएको उनी बताउँछन्। ‘सोच्दै नसोचेको कुरा भयो,’ उनी भन्छन्, ‘गाउँबाट पहिलो पटक काठमाडौँ आएको मान्छे, ठूलो देशमा जान पाउँदा मनमा धेरै कुरा उब्जिए।’ जर्मनी जाने अवसर पाउँदा जति खुशी थिए, उति नै समस्या पनि थिए उनीसँग। ‘साथमा पैसा थिएन, राम्रो कपडा थिएन,’ हरि सुनाउँछन्, ‘खल्तीमा जम्माजम्मी चार सय रुपैयाँ थियो।’
जर्मनी खेल्न जाने अवसर त पाए तर उनीसँग खेल्नका लागि एक जोर पनि गतिलो बुट थिएन। ‘आउटडोर खेलका लागि बुट जर्मन सरकारले दिन्थ्यो,’ उनी थप्छन्, ‘इन्डोर खेलका लागि स्पोट्र्स जुत्ता हुनुपथ्र्यो।’ उनीसँग एक जोर चाइनिज बुट मात्र थियो। त्यो पनि जर्मनी जानुअघि दुई सय रुपैयाँमा किनेका थिए।
जर्मनीको एउटा फुटबल स्कुलमा पुगे उनी। स्कुलमा धेरै देशका खेलाडी पैसा तिरेर खेल्न आउने गरेका थिए। उनी गएपछि पहिला इन्डोर गेम भयो। उनले त्यही दुई सयको जुत्ता लगाएर खेले। ‘सुरुमा सबैको ध्यान मेरो जुत्तामा गयो,’ उनी सम्झन्छन्, ‘आफूलाई त ‘चाइनिज एडिडास’ भए पनि राम्रै होला भन्ने लाग्या थियो।’ तर, उनको अनुमानले फेल खायो। खेल्दाखेल्दै जुत्ता उप्कियो। ‘मसँग त्यस बेला लगाउने जुत्ता पनि भएन,’ उनी भन्छन्, ‘पछि त्यहीँको टिम म्यानेजरलाई भनेपछि अर्को जुत्ता पाएँ।’ प्रशिक्षण सकेर उनी नेपाल फर्किए।
राष्ट्रिय टिमको यात्रा
जर्मनीबाट फर्किएपछि २०५२ सालमा गाउँकै गम्भीर राईले उनलाई एनआरटीमा आबद्ध गराइदिए। त्यति बेला उनको खेल पनि निखारिँदै थियो। एनआरटी क्लबसँग जोडिएपछि टिमको पर्फमेन्स पनि राम्रो भएको उनी सुनाउँछन्। ‘३३ वर्षपछि हामीले एनआरटीलाई लिग च्याम्पियन बनायौँ,’ उनी भन्छन्, ‘त्यस बेला म सबैभन्दा बढी गोल गर्ने खेलाडी भएँ।’ क्लबबाट खेल्दा उनको तलब १५ सय रुपैयाँ थियो। पछि उनी पुलिस क्लबमा आबद्ध भए। ‘पुलिसमा स्थायी जागिर पनि भयो,’ उनी भन्छन्, ‘पुलिस क्लबमा आबद्ध भएपछि निरन्तर खेल्ने मौका पाएँ।’ क्लबमा ट्रेनिङ लामो समय र निरन्तर हुने गथ्र्यो। ‘तलब पनि बढी थियो,’ उनी भन्छन्, ‘क्लबबाट सन्तुष्ट थिएँ।’
एनआरटीबाट खेलिसकेपछि उनी केही समयका लागि घर फर्किएका थिए। ‘त्यही बेला सन् १९९४ को हिरोसिमा खेलमा राष्ट्रिय टिम बोलाएको रहेछ,’ उनी सम्झिन्छन्, ‘तर, हामी चार दिन ढिला पुग्यौँ।’ ढिलो पुगेकाले उनीहरू राष्ट्रिय टिममा पर्न सकेनन्। पछि सन् १९९५ मा सार्क गोल्डकप श्रीलंकामा हुने भयो। त्यति बेला उनी युवा थिए। नरेन्द्रनारायण श्रेष्ठ, चैत्यनारायण श्रेष्ठ, सूर्यनारायण श्रेष्ठ स्ट्राइकिङ लाइनमा थिए। उनको छनोट हुने सम्भावना कमै थियो। मणि शाह र वसन्त गुरुङ आर्मीका एकदम राम्रा खेलाडी मानिन्थे। ‘वसन्त दाइ आर्मीको ट्रेनिङबाट आउनुभएन,’ उनी सुनाउँछन्, ‘मणि दाइ पनि घाइते हुनुभएछ।’ टिममा दुई जनाको कमी भयो। ‘अनि, मेरो भाग्य खुल्यो,’ उनी भन्छन्। तर सहज चाहिँ थिएन। टिममा पर्न उनले चैत्यनारायण र नरेन्द्रनारायणसँग प्रतिस्पर्धा गर्नु थियो।
तीनमध्ये दुई जना छनोटमा पर्ने थिए। त्यसमा सबैभन्दा जुनियर हरि थिए। ‘दुई जना दाइ भर्खर इन्डियाबाट गोल्डकप जितेर आउनुभएको थियो,’ उनी भन्छन्, ‘मैले पनि ट्रेनिङमा राम्रो पर्फर्मेन्स दिइरहेको थिएँ। टिममा पर्छु भन्ने त लागेको थिएन तर परेँ।’
टिममा परेपछि देवनारायण चौधरी, नारायण चौधरी, राजु शाक्य, उमेश प्रधानलगायत खेलाडीसँग खेल्ने अवसर पाएको उनी बताउछन्। ‘यस्ता दिग्गज खेलाडीसँग खेल्न पाउने कल्पनासमेत गरेको थिइनँ,’ उनी भन्छन्, ‘एकदमै खुशी लागेको थियो। टिममा परेपछि सार्क गोल्डकप खेल्न गइयो।’ टिममा त परे तर उनी प्लेइङ इलेभेनमा थिएनन्। नेपाल पहिलो खेलमा बंगलादेशसँग २–० ले हारेको उनी बताउँछन्। ‘दोस्रो खेलमा पाकिस्तानलाई जित्नै पर्ने दबाब थियो,’ उनी सम्झन्छन्, ‘दोस्रो खेलमा मैले पनि खेल्ने चान्स पाएँ।’
उनको पासमा बालगोपालले गोल हाने। साथीकोे पासमा उनले पनि एक गोल गरे। ‘टिम क्वालिफाइड भयो,’ उनी भन्छन्, ‘त्यसपछि इन्जुरीबाहेक बेन्चमा बस्नु परेन।’ यसको श्रेय उनी पुलिस क्लबलाई दिन्छन्। ‘बाहिर क्लबमा रेगुलर ट्रेनिङ हँुदैन थियो,’ उनी थप्छन्, ‘पुलिसमा कामै खेल्ने भएकाले लामो समय खेल्न पाएजस्तो लाग्छ।’
कप्तानीमा कम खेल
छैटौँ साफ गेम भारतको मद्रास (चेन्नई)मा भएको थियो। माल्दिभ्सविरुद्ध गोल हानेपछि उनलाई भारतको मोहन बगान क्लबले अनुबन्ध गरायो। ‘पुलिस क्लबले खासै बिदा नदिएपछि एक वर्ष मात्रै त्यस क्लबबाट खेलेँ,’ उनी भन्छन्, ‘पछि बंगलादेशकोे क्लबबाट भने चार वर्ष खेलेँ।’ बंगलादेशमा चार महिनामा लिग सकिने भएकाले अलि समय खेल्न पाएको उनी बताउँछन्। हरिसँग महेन्द्र एन्ड महेन्द्र कम्पनी, मोहन बगानलगायत विदेशी क्लबमा खेलेको अनुभव छ।
बाहिरी क्लबसँगै राष्ट्रिय टिमबाट पनि खेलिरहन्थे। उनी राष्ट्रिय टिममा हुँदा राजु शाक्य टिमका कप्तान थिए। ‘टिमको कप्तानी वरीयता क्रमका आधारमा हुन्छ,’ उनी भन्छन्, ‘राजु दाइ पछि दीपक अमात्य, उपेन्द्रमान सिंह टिमका कप्तान भए।’ उपेन्द्रमान सिंहले छाडेपछि सिनियर बालगोपाल महर्जन थिए। ‘बालगोपाल दाइ पनि रिटायर्ड भएपछि मेरो पालो आयो,’ उनी भन्छन्, ‘दुई वर्षजति राष्ट्रिय टिमको कप्तानी गरेँ।’ आफ्नो कप्तानीमा धेरै टुर्नामेन्ट नभएकाले कम खेलेको उनको अनुभव छ। ‘अहिलेजस्तो धेरै टुर्नामेन्ट हुन्थेन,’ उनी भन्छन्, ‘त्यस बेला खेल्ने भनेको साफ गेम, ओलम्पिक छनोट र वल्र्डकप छनोट मात्र थिए।’
फुटबल खेललाई निरन्तरता दिएकै कारण अहिलेसम्म आफूलाई मानिसले चिन्ने उनी बताउँछन्। आफ्नो खेल जीवनबाट उनी सन्तुष्ट छन्। ‘फुटबलमा लागेर फुटबलप्रेमीको माया पाएँ,’ उनी भन्छन्, ‘यो क्षेत्रमा लागेर शिक्षाबाहेक केही गुमाएजस्तो लाग्दैन।’


No comments: