लखनऊमा सिके, नेपालमा गुञ्जिए

    उपेन्द्र अर्याल

सोमबार, १६ असार २०७६


गायक आनन्द कार्कीले भारतको लखनऊमा संगीत सिके। होटलमा गाउँदै गायन धारिलो बनाए। ‘यी हल्लाहरू हुन्’ गीतले उनलाई लोकप्रियताको चुलीमा पुर्‍यायो। 


लोकप्रिय गायक हुन्, आनन्द कार्की। उनको पुख्र्यौली थलो सोलुखुम्बुको तिङ्ला हो। उनका बुबा सानैदेखि भारततिरै बस्थे। सोलुखुम्बुमा नै उनको विवाह भयोे। विवाहपछि पनि उनी भारत फर्किए। पाँच जना छोराछोरीमध्ये चार भारतमा जन्मिए। परिवारका कान्छा छोरा आनन्द भने ५४ वर्षअघि सोलुखुम्बुमा जन्मिए। 

कक्षा दुईसम्म गाउँकै स्कुलमा पढे, आनन्दले। ‘छोराले राम्रो शिक्षा पाउनुपर्छ’ भन्ने लागेपछि बुबाले उनलाई आफूसँगै भारत लगे। ‘भारत, लखनऊको मानक विद्यालयमा भर्ना भएँ,’ उनी भन्छन्, ‘तर, त्यहाँ सुरु कक्षाबाट पढ्नुपर्‍यो।’ पढाइ चल्दै गयो। स्कुल पढ्दादेखि नै उनको रुचि संगीततिर थियो। ‘स्कुलमा डान्स गर्ने, गीत गाउने गर्थें,’ उनी सम्झिन्छन्, ‘अहिले लाग्छ, मभित्र कलाकारिताको छनक त्यसबेलादेखि नै रहेछ।’ बिस्तारै उनी स्कुलका सांगीतिक कार्यक्रममा व्यस्त हुँदै गए। परिवारमा उनी मात्र थिए, जो कलाकारितामा रुचि राख्थ्यो। उनका दाइहरू खेलकुदमा रुचि राख्थे। 

बिस्तारै उनले स्कुलबाहिर हुने कार्यक्रममा पनि गाउन थाले। ‘साथीभाइले मेरो स्वरको प्रशंसा गर्थे,’ उनी सुनाउँछन्, ‘तेरो स्वर राम्रो छ भन्थे।’ मानक विद्यालयपछि उनी जनता माध्यमिक विद्यालयमा पढ्न थाले। नयाँ स्कुल पुरानोभन्दा अलि ठूलो भएकाले कार्यक्रम पनि धेरै हुन्थे। आनन्दले त्यहाँ आफूलाई प्रस्तुत गर्ने अझ राम्रो मौका पाए। बिस्तारै उनी विद्यालयबाहिरका स्टेज प्रोग्राममा पनि गाउन थाले।  

संगीतको पहिलो पाठशाला 

संगीतप्रति आनन्दको लगाव देखेर दाइले उनलाई संगीत विद्यालयमा भर्ना गरिदिए।  ‘दाइले भातखण्डे संगीत महाविद्यालयमा भर्ना गरिदिनुभयो,’ उनी भन्छन्, ‘‘पढ्दै संगीत पनि सिक’ भन्नुभयो।’ त्यसपछि आनन्दको नयाँ दिनचर्या सुरु भयो। स्कुलपछि बेलुका ७ बजेसम्म संगीत पाठशाला धाउँथे। ‘कहिलेकाहीँ संगीतको कक्षा सकेर स्टेज कार्यक्रममा प्रस्तुति दिन पनि जान्थेँ,’ उनी भन्छन्, ‘त्यस बेला धेरै सो हुन्थे।’ 

स्टेज कार्यक्रमका लागि उनले साथीहरूसँग मिलेर एउटा समूह बनाए। जसको नाम राखे, ‘स्पार्क गु्रप’। ‘साथीभाइ मिलेर ग्रुप बनायौँ,’ उनी भन्छन्, ‘त्यस बेला गाउन आफ्ना गीत थिएनन्, अरूका गीत गाउँथ्यौँ।’ 

संगीतमा लाग्न उनलाई घरबाट खासै छुट थिएन। ‘बुबा अलिक कडा मिजासको हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘पढइमा बढी जोड दिनुहुन्थ्यो।’ तर, आनन्दको लगाव पढाइभन्दा संगीततिर बढी थियो। उनी गीत खूब सुन्थे। बुबालाई छलेर सांगीतिक कार्यक्रममा जान्थे। ‘त्यति बेला गायक बन्छु भन्ने त सोचेको थिइनँ,’ उनी भन्छन्, ‘गीत–संगीत भनेपछि भुतुक्कै हुन्थेँ।’

एक पटक उनको ‘स्पार्क गु्रप’ले घरनजिकै कार्यक्रम गर्ने भयो। ‘हाम्रो कार्यक्रम हेर्न बुबा पनि आउनुभयो,’ उनी सम्झिन्छन्, ‘मेरो प्रस्तुति देखेर दंग हुनुभयो।’

नेपाल फिर्ती

२०३९ सालतिर आनन्दका बुबा रिटायर्ड भए। बुबासँगै उनी नेपाल फर्किए। गाउँ आएपछि केही समय स्कुलमा पढाए। गाउँमा संगीतको माहौल थिएन। पाँचछ महिना पढाएपछि उनलाई गाउँमा बस्न मन लागेन। बुबालाई थाहा नदिईकन उनी लखनऊ गए। त्यहाँ पुगेपछि दाइले घरमा खबर गरिदिए। भातखण्डे संगीत विद्यालयबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको उनी बताउँछन्। ‘विद्यालयमा अग्रज गायक आाउनुहुन्थ्यो, उहाँहरूबाट धेरै सिक्न पाइयो,’ उनी भन्छन्। 

त्यति बेला एउटा कार्यक्रममा गाएबापत २० भारु पाउने उनी बताउँछन्। ‘त्यस बेला २० रुपैयाँ पनि धेरै हुन्थ्यो,’ उनी भन्छन्, ‘दुई रुपैयाँमा खाना खान पाइन्थ्यो। २० रुपैयाँ पाउँदा त धेरै पाएजस्तो लाग्थ्यो।’ संगीत सिक्न निकै दुःख गरेको उनी सुनाउँछन्। भन्छन्, ‘संगीत विद्यालय पुग्न ४२ डिग्रीको घाममा हिड्थेँ। कोठाबाट संगीत विद्यालय पुग्न दुई घण्टा लाग्थ्यो। बस चढ्न पैसा हुँदैन थियो। हिँडेरै जान्थेँ।’ संगीतप्रति मोहका कारण त्यो हिँडाइ आफूलाई कष्ट नलागेको उनी बताउँछन्।

गाउँदा जागिर चट

कार्यक्रम गर्दागर्दै उनको नाम चम्किँदै गयो। साथीसँग बम्बई ९मुम्बई० जाने सोच  थियो उनको। ‘बम्बई गएर संगीत क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेको थियो,’ उनी भन्छन्। त्यही बेला एउटा कार्यक्रमका लागि नेपाल आउनुपर्‍यो। ‘कार्यक्रम गरेर फर्किहाल्ने सोचले नेपाल आएको थिएँ,’ उनी भन्छन्, ‘तर, डेढ महिना बसियो।’  आफू नेपाल आउँदा संगीतको खासै राम्रो अवस्था नभएको उनी बताउँछन्। उनका साथी सर्कल पनि थिएनन् यहाँ। पछि रेडियो नेपालमा रचना जिसीसँग उनको भेट भयो। उनी पनि गीत गाउँथिन्। उनीसँगै थुप्रै कलाकार आनन्दको कन्सर्ट हेर्न आएका थिए। ‘कन्र्सटमा आउने धेरै कलाकारसँग चिनजान भयो,’ उनी भन्छन्, ‘दीपक जंगम, नारायणकुमार आचार्यजस्ता कलाकारसँग चिनजान भयो।’ 

कार्यक्रम गर्दागर्दै एकदुई महिना बिते। लखनऊ आउने–जाने क्रम चलिरह्यो। यसरी धेरै कार्यक्रम गर्न थालेपछि नेपालमा उनको साथीसंगत पनि बढ्न थाल्यो। त्यसपछि उनलाई भारतको गर्मीमा बस्न मन लागेन। काठमाडौँले लोभ्यायो उनलाई।  ‘अलिक समय नेपालमा बस्छुु भन्ने सोचेर बस्न थालेँ,’ उनी भन्छन्, ‘आफँै पनि  कार्यक्रम गर्न थालेँ।’ 

नेपालमा त्यस बेला गीत गाएर मात्र पैसा कमाउन गाह्रो थियो। काठमाडौँको नैकापमा उनको दाइको साथीले चप्पल फ्याक्ट्री खोलेका थिए। संगीतको खासै वातावरण नभएकाले दाइले काम गर्न सुझाए। ‘पैसा पनि नभएको बेलामा काम गर्छु भन्ने लाग्यो,’ उनी भन्छन्, ‘कारखानामा सुपरभाइजरको काम पाएँ।’ कारखानामा दिनभर खासै कोही हुँदैन थियो। उनी त्यहाँ गीत गाएर बस्थे। अलिक समयपछि अन्य कर्मचारीले हाकिमलाई उनको कुरा लगाए। ‘हाकिमले ‘भाइ तपाईं गीतै गाउनुहोस्, यहाँ अलिक गाह्रो हुन्छ’ भन्नुभयो,’ उनी सम्झिन्छन्। गाउँदा सुपरभाइजरको जागिर गयो। पछि उनले दाइसँग मिलेर पापड फ्याक्ट्री खोले। ‘हामीले घरमै पापड बनाउन सुरु गर्‍यौँ,’ उनी भन्छन्, ‘दिनभर सांगीतिक कार्यक्रममा जान्थेँ। बेलुका पापड बेल्थेँ।’
 
जीवनको ‘टर्निङ प्वाइन्ट’

एक पटक सांगीतिक कार्यक्रमका लागि बागबजार पुगेका थिए। साथीले उनलाई गीत गाउन लगाए। उनले स्टेजमा गएर गीत गाए। ‘मेरो गीत सबैलाई मन पर्‍यो,’ आनन्द सुनाउँछन्, ‘त्यहाँ गाएको देखेर होटल बसेरामा गाउने अफर आयो।’ बसेरामा गाउन थालेपछि उनलाई धेरैले मन पराउन थाले। होटलले उनलाई एउटा गीतको डेढ सय रुपैयाँ दिन्थ्यो। त्यस बेला उनी हिन्दी गजल गाउँथे।

उनको गायकी राम्रो लागेर एभरेस्ट सेरेटन होटलले अफर गर्‍यो। त्यति बेला एकदमै राम्रो होटल थियो सेरेटन। होटलमा गीत गाउन बाहिरबाट पनि आएका थिए। आनन्दले त्यहाँ गजल गाउनुपर्ने थियो। ‘मलाई तीनचार वटा मात्र गजल आउँथ्यो,’ उनी भन्छन्, ‘गजल गाउन एउटा टिम थियो।’ त्यो टिममा गिटारमा थिए, न्ह्यू वज्राचार्य। 

होटलमा छनोट भए, उनी। त्यसलाई उनी आफ्नो जीवनको ‘टर्निङ प्वाइन्ट’ मान्छन्। सेरेटनले कन्ट्र्याक्टमा १० हजार रुपैयाँ दिने उल्लेख गरेको थियो। पैसा धेरै भएकाले उनी पनि खुशी थिए। ‘त्यहाँ एक वर्ष काम गरेर बम्बई जान्छु भन्ने सोचेको थिएँ,’ उनी भन्छन्, ‘तर, एभरेस्टबाट राम्रो सपोर्ट भएकाले यहीँ बसेँ।’ यहाँबाट उनको सांगीतिक उचाइ पनि बढ्यो। बाहिरबाट बुकिङ गरेर गीत सुन्न आउन थाले मान्छे। गुलाम अली, मेहदी हसन लगायतले सेरेटनमा आफ्नो गीत सुनेको उनी बताउँछन्। ‘धेरै कलाकार, निर्माताले सेरेटनमा गीत सुनेकाले मलाई मुम्बई गीत गाउन बोलाउँथे,’ उनी भन्छन्, ‘जहाँ मैले कुमार सानु, सोनु निगमलगायतसँग गीत गाउने अवसर पाएँ।’

देशविदेशमा गायन

आनन्दको भेट शक्ति वल्लभसँग भयो। उनको कम्पोजिसनमा रेडियोे नेपालमा  भ्वाइस टेस्ट दिए। तर, पास भएनन्। अनि, उनले प्राइभेट रेकर्डिङबाट ‘तिम्रो पनि मुटु नै भए’ गीत रेकर्ड गराए। ‘पछि रेडियोमा फेरि भ्वाइस टेस्ट दिएर ‘जीवनमा धेरै खोला तर्नु छ’ बोलको गीत गाएँ,’ उनी भन्छन्, ‘त्यसपछि मेरो सांगीतिक यात्रा अगाडि बढ्दै गयोे।’ त्यस बेला उनमा भाषाको केही समस्या थियो। भारतमा बसेर हिन्दी गीत गाएर सिकेको हुँदा यहाँको टिपिकल भाषासँग कम मेल खान्थ्यो। ‘ठेट नेपाली भाषा भएन भन्ने विभिन्न टिप्पणी आए,’ उनी भन्छन्, ‘तर, मेहनत गर्दै गएँ। हिम्मत हारिनँ।’ 

त्यस समयमा गजल गाउने उनी एक्लाजस्ता भए। गजल गाउने अरू खासै थिएनन्। उनका गीतको चर्चा चुलिँदै गयो। उनलाई फिल्ममा पनि गाउने अफर आउन थाले। ‘कसम’ फिल्ममा उनले पहिलो पटक गाउने मौका पाएका थिए। त्यसपछि ‘सुन सुन मायालु’, ‘यी हल्लाहरू हुन्’ भन्ने गीत गाए। गीत हिट भए। ‘‘यी हल्लाहरू हुन्’ गीत हिट भएपछि फिल्ममा गाउन अफर आयो,’ उनी भन्छन्, ‘तर, त्यति बेला एकदुई वटाबाहेक फिल्म खासै बन्दैन थिए।’ अहिलेसम्म आनन्दले करिब दुईतीन सय फिल्मका गीत गाइसकेका छन्। 

एक पटक भारतीय टेलिभिजन च्यानल जीटीभीले नेपालमा अन्ताक्षरी कार्यक्रम आयोजना गर्‍यो। त्यस बेलामा गजेन सिंहसँग उनको भेट भयो। गजेनले लन्डनमा सार्कस्तरीय सांगीतिक कार्यक्रम आयोजना गर्ने योजना बनाएका थिए। त्यस कार्यक्रममा गजेनले आनन्दलाई पनि बोलाए। ‘कार्यक्रमा भारत, पाकिस्तान, बंगलादेशबाट धेरै गायक थिए,’ उनी भन्छन्, ‘त्यहाँ मेरो प्रस्तुति सबैभन्दा राम्रो भयो। गुलाम अली, जगजीत सिंहलगायत हस्तीले मन पराउनुभयो।’ त्यसपछि उनी देशमा मात्र नभएर विदेशमा पनि चिनिए। उनले भारत, पाकिस्तानलगायत देशमा गजल गायन कार्यक्रम गरेका छन्।

No comments:

Powered by Blogger.