रंगमञ्चमा घरको बन्चरो र कोदालो

उपेन्द्र अर्याल

शुक्रबार, २४ साउन २०७६


निर्देशक बद्री अधिकारीले ‘इन्द्रावती’, ‘लडाइँ’, ‘चक्रव्यूह’, ‘ज्यान हाजिर छ’ लगायत फिल्म निर्देशन गरेका छन्। उनी निर्देशित ‘अविरल बग्दछ इन्द्रावती’ टेलिफिल्म चर्चित छ। १६ वर्षको उमेरमा पहिलो पटक नाटक लेखेका उनले फिल्म र नाटकका कारण थुप्रै पटक जागिर गुमाए।



अभिनेता तथा निर्देशक बद्री अधिकारी नाटक र फिल्ममा सुपरिचित नाम हो। लामो समयदेखि रंगकर्म र फिल्ममा सक्रिय छन् उनी। बाल्यकाल विराटनगरमा बिताएका बद्री आफ्नो करिअरको सुरुवात त्यहीँबाट सुरु भएको बताउँछन्। ‘बाल्यकालमा पनि नाटकप्रति धेरै झुकाव थियो,’ बद्रीले भने, ‘कक्षा पाँचमा पढ्दा कागज काटेर नायक–नायिका बनाउँथें। कपीका पाना सँगै मिलाएर राख्थेँ र साथीहरूलाई सिनेमा भनेर देखाउँथेँ।’ 

विराटनगर टू बनारस

२०२९ सालतिर कक्षा नौमा पुग्दा विराटनगरको जनता माध्यमिक विद्यालयमा पढ्थे, उनी। उनको रुचि देखेर शिक्षकले विद्यालयको कार्यक्रममा प्रहसन गर्न लगाए। ‘शिक्षकले गर्न लगाएको ‘घोप्टे उत्ताने’ प्रहसन राम्रोसँग गरियो,’ उनले सम्झिए, ‘स्कुलमा सबैलाई राम्रो लाग्यो।’ पछि त्यसलाई विभिन्न ठाउँमा देखाइयो। अरूले पनि रुचाएपछि नाटकतिर उनको उत्साह बढ्दै गयो। 

एसएलसी परीक्षा दिएपछि केही समय खाली भए। नाटकमोहले १६ वर्षको उमेरमा उनलाई नाटक लेखायो। एसएलसीपछि विराटनगरमा साइन्स पढ्न कलेज भर्ना भए। साइन्समा अलिक बढी मेहनत गर्नुपथ्र्यो। तर, नाटकको चस्का पसिसकेकाले पढाइभन्दा नाटकमा ध्यान दिन्थे, बद्री। ‘शिक्षकले पढाउँदा ब्ल्याक बोर्डभन्दा उहाँको हाउभाउले मेरो ध्यान खिच्थ्यो,’ उनले भने, ‘हातखुट्टा शरीरका विभिन्न भाग चलाएको नियाल्थेँ।’ रुचि एकातिर र पढाइ अर्कोतिर भएकाले पढाइमा सफल हुन सकेनन्। एक वर्षपछि पढाइ रोकियो। मीनेन्द्र रिजाललगायत उनका केही सहपाठी पढ्न काठमाडौँ आए। बद्री उतै रोकिए। केही साथी बनारस गए। बनारसका साथीले पछि उनलाई उतै पढ्न बोलाए। बनारस गएर आट्र्समा भर्ना भए। ‘विराटनगर बसेको मान्छेलाई बनारस बस्न खासै गाह्रो थिएन,’ उनले भने, ‘पढ्ने माहौल पनि राम्रो थियो। पुस्तकसम्बन्धी चर्चा भइरहन्थे।’ वर्ष दिन बनारसमा बिताएपछि परीक्षा आयो। परीक्षाको ग्यापमा फिल्म हेर्न जान्थे। ‘फिल्मप्रति एकदमै मोह थियो,’ उनले सम्झिए, ‘तीन दिनको परीक्षा ग्यापमा छ वटा फिल्म हेरिसक्थेँ।’ 

फैलने रहरले काठमाडौँ

बनारसबाट विराटनगर फर्केपछि उनले डेढ महिना लगाएर एउटा नाटक बनाए। ‘आमाबुबालाई थाहै नदिई घरबाट नाटक गर्दा चाहिने सामान खाट, बन्चरो, कोदालो लैजान्थेँ,’ उनले भने, ‘निर्देशक भएकाले सबै जिम्मेवारी ममाथि थियो। धेरै दुःख गरेर नाटक गर्थें। तर, एक सोबाहेक नाटक चल्थेन।’ त्यतिबेला विराटनगरमा नाटक देखाउन वीरेन्द्र सभागृह वा हिमालय टाकिज मात्र थिए। जम्मा एक दिन एक सो हुन्थ्यो। ‘कसले कस्तो अभिनय गरेको थियो, हेर्न पनि पाइँदैनथ्यो,’ उनले भने, ‘अभिनयको कुनै लेखाजोखा थिएन। पत्रपत्रिका खासै थिएनन्।’ 

एक पटक बद्री नाटक देखाएपछि चिया खान पसलमा गएका थिए। त्यहाँ  सिनियर कलाकारहरू बसेका थिए। त्यहाँ एक जनाले उनको नाम पत्रिकामा आएको देखाए। उनले भने, ‘एक जना सिनियर दाइले पत्रिका देखाउँदै भने ‘हेर, तिम्रो नाम।’  पत्रिकामा नाम देखेपछि साह्रै खुशी भएँ। ‘अझ राम्रो गर पत्रिकामा फोटो पनि आउँछ’ भन्नुभयो। पत्रिकामा फोटो पनि निस्कन्छ भन्ने थाहा पाएपछि झन् उत्साहित भएँ।’ 

केही समय विराटनगरमा काम गरेपछि उनलाई आफ्नो कला, सीप संकुचित भएको जस्तो लाग्यो। ‘अब ठूलै ठाउँमा गएर काम गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘मेरो नाटक अहिलेसम्म तीन सयले हेरे भने अब तीस हजारले हेरून् भन्ने लाग्यो। मोफसलमा बसेर त्यो सम्भव थिएन। अनि, काठमाडौँ पस्ने सोच बनाएँ।’

काठमाडौँ जाने सोच बनाएपछि नाटकसम्बन्धी ज्ञान राम्रो हुनुपर्छ भनेर नाटक बढीभन्दा बढी हेर्न थाले। यही क्रमामा हरिहर शर्माको नाटक ‘सिन्दुर’ सात पटक हेरे। ‘साथीहरू ‘अरू कुनै फिल्म हेर्दैन, हरिहर शर्माको मात्र हेरेर बस्छ’ भनेर जिस्काउँथे,’ बद्रीले सम्झिए, ‘एकचोटि ड्रेस मात्र हेर्न गएँ। अर्को पटक स्टोरी हेर्न। तेस्रो पल्ट पात्र हेरेँ भन्दा साथीहरू छक्क पर्थे।’ त्यसबेला रमेश बुढाथोकी र सुनील पोखरेललगायत उनका साथी थिए। बद्रीले नाटकको संसारमा हाम्फाल्ने निर्णय गरिरहँदा ठीक त्यही बेला एकेडमीले तालिम खुलाएको थियो। ‘बिनातालिम यति गरियो भने टे«निङ पाएपछि अझ केही गरिन्छ’ भन्ने उनलाई लाग्यो। ‘त्यसपछि सुनील र म अन्तर्वार्ता दिन काठमाडौँ आयौँ,’ उनले सम्झिए। 

अन्तर्वार्तामा हरिहर शर्मा थिए। बद्रीले सम्झिए, ‘उहाँले ‘नाटक त पहिले नै गरिसक्नुभएको रहेछ, लेख्नु पनि भएको रहेछ, सबै काम गरिसकेर यहाँ के सिक्न आउनुभएको ?’ भन्नुभयो।’ तालिम लिँदा एक वर्षसम्म बाँधिनुपर्ने हरिहरले बद्रीलाई बताए। ‘बाहिर नाटक गर्न नपाइने भएकाले ट्रेनिङ नलिन सुझाउनुभयो,’ बद्रीले भने, ‘‘बरु, विराटनगरमा गरेको काम यहीँ गर्नुस्, त्यसपछि तपार्इं ट्रेनर बन्नुहुन्छ, तपाईंका चेला बन्छन्’ भन्नुभयो।’ हरिहरले सुनीललाई भर्ना लिए। बद्री विराटनगर फर्किए। 

फिल्मले गर्दा गुम्यो जागिर 

विराटनगर केही दिन बसेपछि ‘बीए पढ्न काठमाडौँ जान्छु’ भनेर बद्रीले घरबाट अनुमति लिए। रमेश र उनी गोजीमा ८० रुपैयाँ, झोलामा एक जोर लुगा बोकेर काठमाडौँ हानिए। काठमाडौँ त आए, तर बस्ने–खाने टुंगो थिएन। कोठा लिने आर्थिक क्षमता पनि थिएन। त्यसैले साथी मुकुन्द श्रेष्ठकोमा बस्न पुगे। मुकुन्द टाइपिस्ट थिए। साथीको कोठामा बसेपछि सबै काम रमेश र बद्रीले मिलेर गर्थे। त्यसबेला काठमाडौँमा नाटक गर्ने संस्था खासै थिएनन्। ‘त्यतिबेला एकेडमी र नाचघरबाहेक संस्था नै थिएनन्,’ उनले भने, ‘त्यसपछि मैले साथीसँग मिलेर आरोहण नामको संस्था खोलेँ र सबै साथीलाई मिलेर काम गर्न अनुरोध गरेँ।’ तर, भर्खरै काठमाडौँ भित्रिएका उनीसँग खर्च गर्ने पैसा हुँदैन थियो। कामका लागि भौँतारिन थाले। यत्तिकै केही नगरी नै समय बित्दै थियो। तर, खाली समयमा उनी नेपाल–भारत पुस्तकालयमा बसेर विदेशी नाटकका पुस्तक पढिरहन्थे। ‘धेरै नाटक त्यही पुस्तकालयमा बसेर पढेको छु,’ उनले सम्झिए, ‘पछि सिनियर नाटककारलाई ‘तपाईंले लेखेको नाटक फलानो नाटकबाट प्रभावित छ नि’ भनेर पनि भनिदिन्थेँ।’ 

दुई छाक टार्न हम्मे–हम्मे पर्न थाल्यो। जागिरका लागि भौँतारिँदै नाचघर पुगे। त्यसबेला नारायणगोपाल नाचघरका जीएम थिए। हरिप्रसाद रिमाल, वसुन्धरा भुसाललगायतसँग भेट भयो। ‘देशका टप मान्छे रहेछन् भन्ने लाग्यो,’ उनले भने, ‘अब यहाँ जागिर खान्छु भन्ने सोचेँ।’ तर, उनले सोचेजस्तो सहज थिएन। केही कसरत गरेपछि दिनको १० रुपैयाँका हिसाबले जागिर पाए। ‘त्यसबेला शनिबार र छुट्टीको पैसा पाइँदैन्थ्यो,’ उनले भने, ‘सबै कटाएर महिनाको २ सय ४० रुपैयाँ पाउँथेँ।’ 

जागिरले उनलाई खुशी बनाउन सकेन। नाचघरमा खासै नाटक हँुदैन थिए। त्यहाँ आफू निष्क्रिय हुँदै गएको महसुस हुन थाल्यो। ठीक त्यहीबेला ‘जीवनरेखा’ फिल्म बन्ने भयो। उनी गाउँबाट हिरो बन्न आएका थिए। हिरोको रोल पाएनन्। तर, सानो रोलमा भए पनि खेल्न गए। फिल्म त खेल्न पाए तर त्यही कारणले जागिर गुम्यो। ‘छुट्टी नलिई फिल्म खेल्न गएको भनेर नारायणगोपालले जागिरबाट निकालिदिए,’ उनले सम्झिए। 

जीवन धान्न स्कुलको जागिर 

नाचघरको जागिर गुमेपछि उनले आफ्नै भोगाइ समेटेर ‘भीडमा हराएको मान्छे’ नाटक लेखे। नाटक सभागृहमा मञ्चन भयो। त्यसपछि थुप्रै नाटक बनाए। तर, नाटकले आर्थिक अवस्था सबल भएन। आफ्ना सामान्य आवश्यकता पनि पुर्‍याउन नसक्ने भए। ‘सामान्य आवश्यकता पूरा गर्न ट्युसन पढाउन थालेँ,’ उनले भने, ‘त्यसपछि अलि–अलि पैसा हुन थाल्यो।’ पछि पढाउँदापढाउँदै पाटनको एउटा स्कुलमा जागिर पाए। विद्यालयले उनलाई सामाजिक विषय पढाउन राखेको थियो। तर, उनको क्षमता देखेर सबै विषय पढाउन लगायोे। काम गर्न थालेको सातआठ महिनापछि उनको ‘भीडमा हराएको मान्छे’ नाटक आयो। नाटकले गर्दा उनले फेरि जागिर गुमाए। ‘सरकारी स्कुल थियो,’ उनले भने, ‘कलाकारिता गर्ने मान्छे, उतै लाग्नुहोस्’ भनेर बिदा दियो।’ 

त्यसपछि उनी बौद्धको बोर्डिङ स्कुलमा जागिर गर्न थाले। त्यहाँ उनलाई आफ्नो रुचिअनुसार काम गर्ने छुट थियो।  ‘स्कुलले आठ सय तलब दिने भयो,’ उनले भने, ‘यति भएपछि जीवन धान्न पुग्यो, नाटक पनि गर्न पाइयो।’ 

फिल्म यात्रा

स्कुलमा पढाउँदै उनले आफ्ना विद्यार्थीलाई नाटक पनि सिकाउन थाले। काठमाडौँमा बालनाटक प्रतिस्पर्धा आयोजना भयो। त्यसमा उनका विद्यार्थीले पनि भाग लिए। विद्यार्थीले प्रतिस्पर्धा जितेपछि स्कुलले उनलाई थप प्रोत्साहित गर्‍यो। प्रतिस्पर्धा जिताउने ‘शान्ति क्षेत्रको बालक’ नाटकलाई उनले स्कुलको सहयोगमा टेलिफिल्म बनाए। ‘पछि हाम्रो फिल्म वर्षको बेस्ट फिल्म बनेछ,’ उनले सम्झिए, ‘त्यसलगत्तै अर्को टेलिफिल्म ‘कलम किताब’ बनाएँ।’ 

त्यसपछि फिल्म पनि धमाधम बन्दै गए। ‘तर, म कम फिल्म बनाउथेँ,’ उनले भने, ‘अरूले वर्षमा दुई वटा बनाउँदा म वर्षमा एउटा मात्र बनाउथेँ।’ उनी ‘फिल्म सिर्जनशील हुनुपर्छ’ भन्ने मान्यता राखेर फिल्म बनाउँथे। त्यसबेला सरोज खनाल, सुनील पोखरेल, रमेश बुढाथोकीलगायत कलाकारले उनको टेलिफिल्ममा अभिनय गर्थे।

२०४७ सालतिर उनले ‘कोरस’ भन्ने टेलिसिरियल बनाए। जुन एकदमै चर्चित भयो। त्यसले उनलाई अलग किसिमको निर्देशकका रूपमा चिनायो। पछि उनले रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’ मा टेलिफिल्म बनाउने विचार गरे। ‘यसमा मैले धेरै मेहनत गरँे,’ उनले भने, ‘स्पटमा गएर पटकथा लेख्थेँ।’ पटकथा लेखेपछि  विकललाई देखाउँदा उनी दंग परेको बद्रीले बताए। ‘आफ्नो कृति मैले जति पढेको छु, त्योभन्दा बढी पढेका रहेछौ,’ विकलले भनेको सम्झिन्छन् बद्री। साढे दुई वर्ष लगाएर सुटिङ गरेर टेलिफिल्म बन्यो। जसले राम्रो चर्चा पायो। यसपछि उनले ‘इन्द्रावती’, ‘लडाइँ’, ‘चक्रव्यूह’, ‘ज्यान हाजिर छ’ लगायत फिचर फिल्म पनि निर्देशन गरे। उनी अहिलेकी चर्चित अभिनेत्री केकी अधिकारीका बुबा हुन्। 

No comments:

Powered by Blogger.