स्टेजमा करोडपति डेरामा भोकै

उपेन्द्र अर्याल

शुक्रबार, १० असोज २०७६


अभिनेता तथा निर्देशक रमेश बुढाथोकी।

अभिनेता तथा निर्देशक रमेश बुढाथोकीको अभिनय यात्रा नाटकबाट सुरु भएको थियो। यो यात्रा टेलिफिल्म र फिल्म हुँदै निरन्तर अघि बढ्यो। उनले जीवनका थुप्रै रूप र झाँकी देखेका छन्। कुनै बेला उनी मञ्चमा करोडपतिको भूमिका निर्वाह गर्थे र डेरामा पानी मात्रै पिएर भोकै सुत्थे।  


अभिनेता तथा निर्देशक रमेश बुढाथोकी तीन दशकयता निरन्तर कला कर्ममा सक्रिय छन्। हिजोआज उनी नाटकमा व्यस्त छन्। उनले अभिनय गरेको नाटक ‘महाभोज’ चलिरहेको छ। काठमाडौँ, अनामनगरस्थित मण्डला नाटकघरमा भदौ १४ गतेदेखि असोज १२ गतेसम्म मञ्चन हुने नाटकको चटारोमा छन् उनी। धेरै पछि नाटकमा काम गर्न पाएकोमा खुशी छन्। ‘नाटक मेरो जीवन हो,’ उनी भन्छन्, ‘नाटकप्रति आसक्त छु। शरीर बूढो हुँदै गए पनि अभिनयको भोक भने युवा नै छ।’ उनको अभिनय यात्रा नाटकबाटै सुरु भएको हो। अभिनयको भोक अझै नमेटिएको उनी बताउँछन्।

एउटै सिनेमा छुट्दैनथ्यो 

मोरङको झोराहटमा जन्मिएका हुन्, रमेश। तीन कक्षासम्म सुनसरीको चक्रहट्टी विद्यालयमा पढे। बाल्यकाल त्यहीँ बित्यो। बुबा त्यसबेलाको ग्राम विकासमा जागिरे थिए। जागिर सरुवा भइरहन्थ्यो। बुबासँगै उनले पनि सरिरहनुपथ्र्यो। कहिले तेह्रथुम त कहिले धनकुटा पुग्थे। पछि बुबाको जागिर विराटनगरमा भएपछि उनी विराटनगरको गोग्राह माविमा कक्षा १० मा पढ्न थाले। बुबा सरकारी जागिरे भए पनि घरको अवस्था कमजोर थियो। त्यसबेला आर्थिक अवस्था कमजोर हुने परिवारको विद्यार्थीको शुल्क मिनाहा हुन्थ्यो।

स्कुल पढ्दाताकादेखि नै सिनेमामा रुचि राख्थे। हलमा लागेका कुनै पनि फिल्म नछुटाई हेर्थे। ‘विराटनगरमा त्यसबेला जलजला र हिमालय टाकिज थियो,’ उनी सम्झन्छन्, ‘हलमा फिल्म हेर्न क्लास छोडेर जान्थेँ। फिल्ममा एकदमै रुचि थियो।’ कक्षा छाडेर जाँदा धेरै पटक सजाय पनि पाए। ‘स्कुलमा सरको र घरमा बुबाको खूब गाली खान्थेँ,’ उनी भन्छन्, ‘त्यसबेला ४० पैसामा सिनेमाको टिकट पाइन्थ्यो। तर, त्यो पैसा जुटाउन पनि हम्मे–हम्मे पथ्र्यो। टिफिन खान दिएको पैसा जम्मा गरेर फिल्म हेर्थें।’ कहिलेकाहीँ टिकट नपाउँदा ब्ल्याकमा एक रुपैयाँमा टिकट किन्नुपथ्र्यो। ‘सानो मान्छे थिएँ,’ उनी भन्छन्, ‘सुरुमै पुगेर काउन्टरको प्वालमा हात छिराउँथँे। तर, अरूले ठेलेर पर पुर्‍याइदिन्थे। टिकट सकिन्थ्यो, पछि ब्ल्याकमा टिकट किन्नुपथ्र्यो।’

अभिनयको भूत उनमा सानैदेखि सवार थियो। बाल्यकालमा खेल्ने खेल पनि अभिनयसँग सम्बन्धित हुन्थे। चोर, पुलिस, वकिल बन्थे, उनी। फिल्ममा देखिएका सिन गर्थे। ‘गाउँघरमा सत्यनारायणको पूजा हुँदा माइकमा समेत फिल्मका विभिन्न डायलग बोल्थेँ,’ उनी भन्छन्। पढाइमा उनी औसत थिए। गोग्राहबाट एसएलसी दिए। पहिलोपल्ट एसएलसीमा फेल भए। दोस्रो प्रयासमा तृतीय श्रेणीमा पास भए। बुबा उनलाई डाक्टर बनाउन चाहन्थे। ‘राम्रो पढोस्’ भन्ने चाहन्थे। रमेशलाई भने पढाइमा खासै रुचि थिएन। उनको मोह अभिनयमा थियो। 

२०३४ सालमा एसएलसी दिएपछि तीन–चार महिना ग्याप भएको थियो। त्यसबेला उनी अभिनय सिकाउने संस्थाको खोजीमा थिए। ‘साथीबाट  विराटनगरमा दियालो नाट्य परिवार भन्ने संस्था छ भन्ने थाहा पाएँ,’ उनी सम्झन्छन्, ‘त्यसबेला त्यहाँ मुकुन्द श्रेष्ठ, बद्री अधिकारी हुनुहुन्थ्यो। उहाँहरूले दियालो संस्था खोल्नुभएको रहेछ ।’  

नाटकले चिस्यायो सम्बन्ध 

दियालो परिवारमा बद्री अधिकारीसँग उनको भेट भयो। त्यसपछि उनी अभिनय गर्न संस्थामा आबद्ध भए। तर, नयाँ भएकाले सुरुमा ठूलो भूमिका पाएनन्। ‘द्रोही’ भन्ने नाटकमा एक सिन गर्ने मौका पाए। उनको अभिनय सबैले मन पराए। उनलाई हौसला मिल्यो। त्यसपछि बद्री अधिकारीले लेखेको नाटक ‘यहाँ मरे बाँचिन्छ’ मा रमेशले मुख्य भूमिका पाए। नाटक विराटनगर र राजविराजमा मञ्चन भयो। त्यसले उनको अभिनयमा अझ निखार ल्यायो।  ‘रक्तिम बलेसीका रातहरू’ भन्ने नाटकमा पनि अभिनय गरे। तर, अझै पनि आफूले खोजेजस्तो भूमिका नपाइएको उनलाई महसुस हुन्थ्यो। आत्मविश्वास र अनुभव बढ्दै गयो। त्यसपछि ‘अब आफैँ नाटक लेख्नुपर्छ’ भन्ने लाग्यो। ‘२०३६ सालमा ‘सिम्रिकको भिक्षा’ नामक नाटक लेखेँ,’ उनी सम्झन्छन्, ‘त्यो नाटक गरेँ। त्यसपछि लगातार चार–पाँच वटा गरेँ।’ आफैँ नाटक लेखन गर्न, निर्देशन गर्न थालेपछि विराटनगरमा उनको चर्चा हुन थाल्यो। त्यस बेलासम्म महेन्द्र मोरङ क्याम्पसबाट आईए सकाइसकेका थिए। तर, बुबा भने झन्झन् रिसाइरहेका थिए। बुबासँग उनको सम्बन्ध चिसिँदै गयो। ‘बुबाको चाहना मलाई डाक्टर बनाउने थियो,’ उनी भन्छन्, ‘डाक्टर नभए कम्तीमा सरकारी जागिरे बनोस् भन्ने थियो। तर, उहाँको इच्छाविपरीत म अभिनयमा लागेँ। यसले हाम्रो सम्बन्ध नै चिसियो।’ 

त्यति बेला नेपाल प्रज्ञा प्रतिष्ठानमा हरेक वर्ष नाट्य महोत्सव आयोजना हुने गर्थे। विराटनगरबाट वसन्त भट्टले लेखेको ‘गोधूलि साँझ’ बद्री अधिकारीको निर्देशनमा मञ्चन भएको थियो। त्यो नाटक महोत्सवमा मञ्चन भयो। 

स्टेजमा करोडपति, घरमा रोडपति

त्यस बेला एकेडमीले हरेक वर्ष पाँच विकास क्षेत्रबाट एक–एक जना प्रतिभाशाली कलाकारलाई तालिम दिने कुरा थाहा पाए। उनले पनि अन्तर्वार्ता दिए। तालिमका लागि छानिए। एक वर्षको तालिम भयो। आईए सकिसकेका थिए। तालिमसँगै त्रिचन्द्र कलेजमा स्नातक तहमा भर्ना भए। एकेडमीमा आउँदा हरिहर शर्मा महाप्रबन्धक थिए। त्यहाँ हरिहरसँगै शकुन्तला, प्रचण्ड मल्ललगायत कलाकारसँग भेट भयो। नाटक र पढाइ सँगसँगै चल्न थाल्यो। बेलुका क्याम्पस, बिहान तालिम। एकेडमीले उनलाई मासिक तीन सय रुपैयाँ दिन्थ्यो। ‘त्यही पैसाले मेरो खर्च टरेको थियो,’ उनी सम्झन्छन्। काठमाडौँमा बद्री अधिकारी र सुनील पोखरेलले ‘आरोहण’ नाटकघर खोले। त्यसले एउटा नाटक गर्ने भयो, ‘भीडमा हराएको मान्छे’। त्यसमा रमेशले पनि अभिनय गर्ने मौका पाए। ‘‘भीडमा हराएको मान्छे’ का लागि पुरस्कार पाएँ,’ उनी सम्झन्छन्। काठमाडौँमा श्री समूह भन्ने अर्को संस्था पनि थियो। यसमा पनि उनले ‘हिमाल हाँस्छ यसरी’ लगायत नाटक गरे। 

घरबाट पैसा आउँदैनथ्यो। उनलाई आर्थिक संकटले घेर्न थाल्यो। ‘नाटकबाट पनि खासै आम्दानी थिएन,’ उनी भन्छन्, ‘त्यतिखेर नाटकको त्यति विकास भएको थिएन। नाटकमा अहिलेको जस्तो दर्शक पनि हुँदैन थिए।’ अवस्था दयनीय थियो। ‘स्टेजमा करोडपतिको रोल गरिन्थ्यो,’ रमेश सुनाउँछन्, ‘घरमा आउँदा खानका लागि केही हुँदैनथ्यो। रोडपति भइन्थ्यो। पानी खाएर कति रात बिते।’

आर्थिक अभावले पिरोलेपछि ‘अरू नै पेशा गरूँ कि’ भन्ने महसुस भएको उनी बताउँछन्। एक महिनाजति सेल्स म्यानको काम गरे। राकुरा चिया ठाउँ–ठाउँमा बेच्ने काम गरे। तर, लामो समय गर्न सकेनन्। ‘कामले गर्दा नाटकको रिहर्सलमा जान भ्याइँदैनथ्यो,’ उनी सम्झन्छन्, ‘कि नाटक छाड्नुपर्ने भयो, कि जागिर। नाटक मेरो प्यासन थियो। पारिवारिक सम्बन्धसमेत त्यागेर नाटकमा लागेको मान्छे,  काम छोड्नु मेरा लागि कुन चाहिँ ठूलो कुरा भयो र ! जागिर छोडेँ।’ 

पछि साथीहरूसँग मिलेर ‘रंगकर्मी जमात’ भन्ने संस्था खोले। संस्थाबाट उनले आठ वटाजति नाटक मञ्चन गरे। ‘मेघ तृष्णा’, ‘रोमियो–जुलियट’, ‘उसको कवितामा को रुँदैन’ लगायत जम्मा २० वटाजति नाटकमा उनले काम गरे। हरेक वर्ष नाटक महोत्सवमा भाग लिन्थे। कहिले सर्वोत्कृष्ट निर्देशक त कहिले उत्कृष्ट अभिनेता भएर पुरस्कृत हुन्थे। 

टेलिफिल्म हुँदै फिल्म यात्रा

२०४२ सालतिर जीएए भन्ने संस्थाले एकांकी प्रतियोगिता गर्‍यो। उनले पनि ‘क्रान्ति’ नाटक प्रस्तुत गरे। त्यसमा उनी बेस्ट एक्टर÷डिरेक्टर भए। त्यसबेला निर्णयक मण्डलमा थिए, नीर शाह। भर्खर नेपाल टेलिभिजनका अध्यक्ष तथा महाप्रबन्धक भएका थिए, शाह। ‘मेरो काम देखेर टेलिफिल्म बनाउँछौ भनेर सोध्नुभयो,’ रमेश सम्झन्छन्, ‘मैले दायाँबायाँ केही नसोचीकन ‘हुन्छ’ भनेँ।’ त्यसपछि उनले नेपाल–भारत पुस्तकालयमा गएर केही फिल्मसम्बन्धी पुस्तक पढे। तालिमपछि आत्मविश्वास पनि बढेको थियो। पहिलो पटक उनले ‘वाचा बिर्सेको छैन’ नामको टेलिसिरियल बनाए। जुन नेपाल टेलिभिजनको पहिलो टेलिसिरियल थियो। टेलिसिरियल खूब रुचाइयो। ‘त्यसबापत टेलिभिजनले मलाई अवार्ड पनि प्रदान गरेको थियो,’ रमेश भन्छन्। त्यहाँबाट सुरु भएको उनको टेलिफिल्म यात्रा। त्यसपछि आम्दानीको स्रोत बढ्दै गयो। लोकप्रियता बढ्यो। टेलिभिजनले सम्मान गरेपछि बुबासँगको सम्बन्ध पनि राम्रो भयो।

२०४५ सालबाट उनले फिचर फिल्मको यात्रा सुरु गरे। नीर शाहले निर्देशन गरेकोे फिल्म  ‘२५ वसन्त’ मा रमेशलाई सहायक निर्देशक तथा कलाकारको भूमिका दिइयो। यतिबेलासम्म उनले टेलिभिजनमा थुप्रै सिरियल बनाइसकेका थिए। ‘निमित्त नायक’, ‘राप’, ‘अलिखित’, ‘राधा’, ‘मनु’, ‘भावना’, ‘पुष्पाञ्जली’ लगायत टेलिसिरियल लोकप्रिय भइसकेका थिए। पछि नेपाल वानमा ‘कसलाई आफ्नो भनूँ’ ९ सय ८० भागको सिरियल बनाए। जुन नेपालको सबैभन्दा लामो सिरियल बनेको थियो। आफ्नो सोलो फिल्मको निर्देशन ‘मोहनी’ फिल्मबाट सुरु गरेका थिए। फिल्म सफल भएको थियो। दर्शकले रुचाएका थिए। त्यस बेलादेखिको यात्रा अहिलेसम्म चलिरहेको छ। अहिलेसम्म उनले छ दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन्। ११ वटा फिल्म निर्देशन गरिसकेका छन्। 

No comments:

Powered by Blogger.