कोठामा नअट्ने कम्प्युटरका अपरेटर



उपेन्द्र अर्याल

बिहिबार, २३ फागुन २०७५


राष्ट्रिय कम्प्युटर केन्द्रमा लामो समय जागिर गरेर निवृत्त भएका भुवनहरि सिग्देल साहित्य क्षेत्रमा पनि सक्रिय छन् । उनका ‘जदौ मालिक’ र ‘आमोई’ आदि किताब प्रकाशित छन् । नेपालका प्रारम्भिक कम्प्युटर अपरेटरमध्ये उनी एक हुन्।


विद्यालय भर्ना भएको तीन वर्षमै एसएलसी

भुवनहरि सिग्देल ६८ वर्षअघि काठमाडौँको दहचोकमा जन्मे÷हुर्केे । ‘बुबाले घरमा रुद्री, चण्डी र वेदका किताब पढाउनुहुन्थ्यो,’ उनी भन्छन्, ‘मैले यिनै किताबको सहाराले अक्षर चिन्न थालेको हुँ ।’ विद्यालय शिक्षा भने उनले १३ वर्षको उमेरमा थानकोटको मंगोल हाईस्कूलबाट सुरु गरेका थिए । ‘बुबाको चाहना घरमै बसेर संस्कारिक विद्या पढोस् भन्ने थियो तर मेरो चाहना स्कुलमा गएर पढ्ने थियो,’ उनी भन्छन्, ‘घरबाट भागेर स्कुल पढ्न गएँ । स्कुलीय ल्याकत केही थिएन, मेरो । सामान्य नेपाली अक्षर पढ्न जानेको थिएँ, अंग्रेजी अक्षर त चिनेको पनि थिइनँ ।’ 

गणित उनका लागि ‘कालो अक्षर भैसी बराबर’ थियो । स्कुलमा आफूलाई कक्षा तीनमा भर्ना गरिएको उनी बताउँछन् । ‘मैले १३ वर्षको उमेरमा कक्षा तीनदेखि पढ्न थालँे,’ उनी भन्छन्, ‘पढ्नमा तेज भएकाले अर्को तीन वर्षमा एसएलसी पास गरेँ ।’ यसरी तीन वर्षमै उनले स्कुले जीवन पार गरे।

वैकल्पिकबाट कम्प्युटर केन्द्रको जागिर

स्कुल सकिएपछि घरको नाजुक आर्थिक अवस्थाले उनलाई जागिरतिर डोर्‍यायो । ‘एसएलसी सकेपछि जागिरको खोजीमा भौतारिएँ,’ उनी भन्छन् । एउटा स्कुलमा मासिक सय रुपैयाँ दिने शर्तमा पढाउन थाले । बिहान स्कुल पढाउँथे, दिउँसोे आफू त्रिचन्द्र कलेजमा पढ्न जान्थे ।

त्रिचन्द्रबाट आईए पास गरे । ‘त्यही स्कुलमा पढाउँदा–पढाउँदै देशमा नयाँ शिक्षा प्रणाली लागू भयो,’ उनी भन्छन्, ‘नयाँ शिक्षा प्रणालीअन्तर्गत विद्यालय निरीक्षक भनेर शिक्षा मन्त्रालयले केही विद्यालय निरीक्षक माग गरेको थियो । म पनि निरीक्षकको जागिर खान पाँचथर पुगेँ ।’ एक वर्ष विद्यालय निरीक्षकको जागिर खाएपछि उनलाई त्यहाँ बस्न मन लागेन ।

उनी जागिर छाडेर काठमाडौँ आए । ‘त्यस बेला तथ्यांक विभागअन्तर्गत अस्थायी नासु पदको विज्ञापन खुलेको थियो,’ उनी सम्झन्छन्, ‘त्यसमा मैले पनि दरखास्त दिएँ । जागिरका लागि छानिएँ ।’ त्यहाँ कोडिङ गर्ने काम गर्नुपर्ने उनी बताउँछन् । ‘त्यस बेलासम्म मलाई कोडिङ भनेको के हो भन्ने थाहा थिएन,’ उनी भन्छन्, ‘त्यहाँ मलाई चारपाँच दिनको तालिम दिइयो ।’

त्यति बेला औद्योगिक गणना २०२८ सालको कोडिङ गर्ने काम चलिरहेको थियो । त्यो जागिर छ महिनाको मात्रै भएकाले उनले खासै काम गर्न पाएनन् । ‘तर, छोटो समयमै मेरो कोडिङको काम बढा अद्भुत भएछ,’ उनी सम्झन्छन्, ‘त्यहाँका अरू कर्मचारीले दिनमा ५०÷६० वटा फारम कोडिङ गर्दा मैले तीनचार सय फारम कोडिङ गर्थें ।’ यसरी काम गर्दा छ महिनाको काम चार महिनामै सकिएको उनी बताउँछन् । उनको काम देखेर तथ्यांक विभागका निर्देशकले उनलाई कम्प्युटर केन्द्रको नासुमा दरखास्त दिन सुझाए । ‘कम्प्युटर केन्द्रको नासुमा दरखास्त दिएँ,’ उनी भन्छन्, ‘अन्तरवार्ताबाट वैकल्पिक छानिएँ ।’ 

वैकल्पिकमा परेपछि उनी पुनः स्कुलको जागिर खोज्न भौँतारिए । ‘तर, नाम निस्केको मान्छेले आर्मीको सेकेन्ड लेफ्टिनेन्टमा पास भएर कम्प्युटरको जागिर नखाने भएछ,’ उनी सम्झिँदै भन्छन्, ‘वैकल्पिकमा भएकाले म कम्प्युटरको प्रशासनमा जागिर खान पुगेँ ।’ २०३१ सालमा कम्प्युटर केन्द्र स्थापना भएको हो । त्यस बेला नेपालीलाई कम्प्युटर के हो भनेर बुझाउनै गाह्रो भएको उनी बताउँछन्  

कोठामा नअट्ने कम्प्युटर

त्यतिखेर नेपालमा ल्याइएको कम्प्युटर मेनफ्रेम कम्प्युटर भएको उनी बताउँछन् ।  ‘त्यो मेनफ्रेम कम्प्युटरको र्‍याम जम्मा दुई एमबीको थियो,’ उनी सम्झिँदै भन्छन्, ‘त्यस कम्प्युटरका अंग–प्रत्यंग तथ्यांक विभागको भुइँ तलाको एउटा कोठामा अटाएनन् । कम्प्युटरका ६४ वटा डाटा इन्ट्री मेसिन थिए । त्यसमा ६४ जना डाटा इन्ट्री अपरेटरले दिनभर काम गर्नुपथ्र्यो ।’

मेनफ्रेम कम्प्युटरले अहिलेको जस्तो अंक र अक्षर नबुझ्ने उनी बताउँछन् । ‘त्यो कम्प्युटरले जम्मा दुई वटा अंक ० र १ मात्र बुभ्mथ्यो,’ उनी भन्छन्, ‘अंक २ टाइप गर्‍यो भने कम्प्युटरले रिड गर्दैन थियो । नयाँ अक्षर बनाउनुपर्‍यो भने कोडिङ गर्नुपथ्र्यो । ए भनेको ००१ भनी कम्प्युटरमा कोडिङ गर्नुपथ्र्यो ।’ त्यो संकेत बनाउनेलाई प्रोग्रामर भनिने उनी बताउँछन्।

केन्द्रमा कम्प्युटरलाई बुझाउने भाषा लेख्नका लागि १२ जना अधिकृतको दरबन्दी रहेको थियो । ‘डाटा कन्र्भजन अधिकृत चार जनासहित हामी जम्मा २ सय ८३ जना कर्मचारी थियौँ,’ सिग्देल भन्छन्, ‘कम्प्युटर केन्द्रले त्यो बेला लोकसेवाका रिजल्ट, परिवार नियोजनको काम, जनगणनाको काम गर्ने गथ्र्यो ।’ 

भाडामा थोत्रो कम्प्युटर

२०१८ सालको जनगणनाको काम गर्न नेपाललाई साढे सात वर्ष लागेको उनी बताउँछन् । त्यो जनगणना नेपालले हातले नै गरेको थियो । ‘२०२८ सालको जनगणना आउन लाग्दा पनि पहिलेको जनगणनाको नतिजा आएको थिएन,’ उनी सम्भ्mन्छन्, ‘त्यही बेलाको भारतमा भएको जनगणनामा भारतले नेपालमा ल्याएको कम्प्युटरले गणना गर्दा १८ महिनामा नतिजा निकालेको थियो ।’

नेपालमा २०३१ सालमा ल्याइएको कम्प्युटर भारतले आईबीएम कम्पनीसँग भाडामा लिएर उसले जनगणनाको काम गरेको उनी बताउँछन् । ‘२०२८ सालको जनगणनाका लागि प्रयोग गर्न नेपालले अर्को विश्वबजारको कम्प्युटर नहेरीकन भारतले चलाएको थोत्रो कम्प्युटर आईबीएम कम्पनीबाट ल्यायोे,’ उनी भन्छन्, ‘जबकि भारतले दोस्रो पुस्ताको कम्प्युटर ल्याउने भएपछि उसले कम्पनीलाई त्यो पुरानो कम्प्युटर फर्काइदिएको थियो ।’ 

नेपालले कम्पनीसँग त्यो कम्प्युटर महिनाको भारु सवा लाख रुपैयाँ भाडा तिर्ने शर्तमा ल्याएको उनी बताउँछन् । ‘नेपालले त्यो कम्प्युटर आईबीएम कम्पनीसँग नकिनेको भए, कम्पनीले कबाडमा फाल्थ्यो,’ उनी भन्छन्, ‘किनकि, त्यो काम लाग्ने थिएन । विश्वबजारमा दोस्रो पुस्ताको कम्प्युटर निस्केको थियो ।’ पहिलो पुस्ताको कम्प्युटरले नेपालमा २०३८ सालसम्म काम गर्‍यो ।

‘२०३८ सालको जनगणनामा अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई दोस्रो पुस्ताको कम्प्युटर उपहार दिए,’ उनी भन्छन्, ‘दोस्रो पुस्ताको कम्प्युटर पनि सानो भएर आएन ।’ दोस्रो पुस्ताको कम्प्युटर आएपछि आईबीएम कम्पनीसँग सम्झौता तोडियो । ‘दोस्रो पुस्ताको कम्प्युटर आउने भएपछि केन्द्रलाई सरकारले सिंहदरबारभित्र भवन दियो,’ उनी भन्छन्, ‘त्यसपछि कम्प्युटर केन्द्र सिंहदरबारमा नै सर्‍यो ।’ 

त्यतिखेर कम्प्युटरले कसरी काम गर्छ भनेर बुझाउन सेमिनारहरू गर्नुपर्ने उनको अनुभव छ । ‘दोस्रो पुस्ताको कम्प्युटरले अंक र अक्षर सबै बुभ्mथ्यो,’ उनी भन्छन्, ‘त्यसमा सोझै टाइप गर्न सकिन्थ्यो ।’ कम्प्युटरको र्‍याम पनि आठ एमबी भएर आएको थियो । ‘दोस्रो पुस्ताका कम्प्युटरले भाषाका प्रोग्राम बुभ्mथ्यो,’ उनी भन्छन्, ‘त्यसको चारपाँच वर्षपछि म्याकिन्टोस कम्प्युटर आयो । त्यो कम्प्युटरले डट म्याट्रिक्समा काम गथ्र्यो । यसमा टाइप गर्न, मेट्न र प्रिन्ट हान्न पनि मिल्थ्यो ।’ 

कम्प्युटर केन्द्रको अवसान 

त्यस बेला राष्ट्रिय कम्प्युटर केन्द्र भनेको नमुना कार्यालय थियो । ‘कार्यालयमा हाजिरमा १० मिनेट मात्रै छुट थियो,’ उनी भन्छन्, ‘कार्यलयको अनुशासन एकदमै कडा थियो । १० मिनेट ढिला भएमा कि फर्केर जानुपथ्र्यो कि हाफ बिदा लिनुपथ्र्यो ।’ २०४४ सालपछि कम्प्युटर केन्द्र विनाश भएको उनी बताउँछन् । ‘खास गरी त्यो अफिस खत्तम नै भयो,’ उनी भन्छन्, ‘एकदमै अनुशासित कर्मचारी पनि एक्कासि अराजक भएर निस्किए ।’ बजारमा हूलदंगा हुनथालेपछि कर्मचारी पनि जुलुस निकालेर हिँड्न थालेको सिग्देल सुनाउँछन् ।

‘त्यस बेला कर्मचारीले उन्मुक्ति चाहेर प्रजातन्त्रलाई साथ दिएर आन्दोलनमा लागे,’ उनी भन्छन् । त्यसपछि कम्प्युटर केन्द्रका प्राविधिक कर्मचारीले बाहिर काम गर्न थाले । ‘२०४८ सालबाट कर्मचारीले बाहिर काम गर्न सुरु गरे,’ उनी भन्छन्, ‘कर्मचारीले कार्यालयमा काम गर्न छाडे ।’ त्यसपछि केन्द्र डुब्दै गएको उनी बताउँछन् । सरकारले कम्प्युटर केन्द्रका कर्मचारीको तलब र सञ्चयकोष रोकिदियो । ‘तलब नपाएपछि हामीले अदालतमा मुद्दा हाल्यौँ,’ उनी भन्छन्, ‘सर्वोच्चले तुरुन्त तलब खुवाउनु भनेर फैसला गर्‍यो ।’ २०५२ सालमा कर्मचारीको तलब आठनौ महिना रोकिएको उनी सुनाउँछन् ।

‘अदालतको निर्णयपछि २०५३ सालमा विज्ञान प्रविधि मन्त्रालय खुल्यो,’ उनी थप्छन्, ‘त्यसले बोलाएर तलब बाँड्यो ।’ तर, कम्प्युटर केन्द्र भने नटिक्ने अवस्थामा थियो । ‘सरकारले पनि कुनै नीति ल्याएन,’ उनी भन्छन्, ‘सबै अड्डामा कम्प्युटर हुनथाले ।’ कर्मचारी स्थायी भएकाले तत्काल फाल्न पनि नसकेको उनी बताउँछन् ।

‘२०५५ सालमा भाइटीकाको दिनमा राष्ट्रिय कम्प्युटर केन्द्र खारेज भएको सूचना आयो,’ उनी भन्छन्, ‘‘एकैपल्ट २ सय ८३ कर्मचारीलाई ठाडो अवकाश दिइयो ।’ कार्यालयमा भएका आफ्ना कागजातसमेत लिन नदिएको उनी बताउँछन् । कर्मचारीले अनेक प्रयास गर्दा पनि उनीहरूको पुनः जागिरमा बहाली हुन नसकेको उनी सुनाउँछन्।

No comments:

Powered by Blogger.