‘पिँधमा जो छ उही मेरो प्रिय पात्र’
नेपाली आख्यानमा नयनराज पाण्डे सुपरिचित र शक्तिशाली नाम हो। ‘उलार’ उनको ‘म्याग्नम अपस’ हो। यसलाई नेपाली साहित्यको महत्त्वपूर्ण कृति मानिन्छ। उनका ‘नांगो मान्छेको डायरी’, ‘विक्रमादित्य, एउटा कथा सुन’, ‘अतिरिक्त’, ‘लू’, ‘घामकिरी’, ‘सल्लीपिर’ उपन्यास र ‘खोरभित्र जोकर’, ‘निदाएँ जगदम्बा’, ‘चकलेट’ कथासंग्रहका साथै ‘यार’ संस्मरणात्मक किताब प्रकाशित छन्। उनले दर्जनौँ फिल्म तथा टेलिफिल्म लेखेका छन्। आख्यानकार पाण्डे ‘सम्पूर्ण’सँग आफ्ना प्रिय पात्रहरूबारे गफिएका छन्।
नयनराज पाण्डे
लेखकलाई आफूले सिर्जना गरेका सबै पात्र प्रिय लाग्छन्। ‘यो पात्र मन परेन’ भन्नु आडम्बर हुन्छ। हामी कतिपय उपन्यासमा एउटै खालका पात्र बनाउँछौँ। ती पात्रमा समाजमा देखेका धेरै चरित्रलाई एक ठाउँमा समावेश गर्छांै। उपन्यास ‘लु’ को इलैयाको त धेरै प्रशंसक छन्। त्यसको कारण के हो भने इलैयामा विभिन्न विशेषता छन्। ऊ रिसाहा पनि छ, मायालु पनि छ। उसको चरित्रमा विविधता छ। उसका चरित्रका रङहरू छन्। त्यसैले धेरैले इलैयालाई मन पराउँछन्। मलाई पनि इलैया प्रिय लाग्छ।
‘उलार’को प्रेमललवालाई पनि धेरै पाठकले मन पराउँछन्। प्रेमललवामा चरित्रका धेरै रङ छैन। ऊ एउटा दुःखी चरित्रबाट बढिरहेको छ। तर, कतै न कतै इलैयामा पनि प्रेमललवा हुन्छ। ऊ प्रेममा पर्दाको भावनामा कतै न कतै त्यहाँ पे्रमललवा पनि आइरहेको छ। मैले उलारको २० वर्षे संस्मरणमा यो पात्रलाई कसरी लिएको भन्ने लेखेको छु। यो पात्र मेरो प्रिय पात्रमध्ये एक हो। खासमा भन्ने हो भने समाजको पिँधमा जो छ, उही मेरो प्रिय पात्र हो।
सलिम सबैभन्दा प्रिय
अर्को मेरो एउटा सलिम भन्ने पात्र छ। ‘यार’ संस्मरणमा लेखेको छु। ऊ मेरो बाल्यकालको साथी हो। मेरो घरको भित्री टोलमा मुसलमान बस्थे। त्यही टोलमा ऊ बस्थ्यो। सलिम जुत्ता सिलाउने परिवारबाट थियो। उसको चरित्रमा विविध रूप थिए। ऊ जुत्ता सिउँथ्यो, मसँग खेल्थ्यो। जुत्ता सिउने ठाउँको भित्तामा सिनेमाका पोस्टर टाँसिएका हुन्थे।
अनि, उसले ती पोस्टरको आधारमा कथा भन्थ्यो। हेर्न त पाउँदैनथ्यो, पैसा लाग्थ्यो। उसको रूपरङको छाया मेरो प्रेमललवामा पनि छ, इलैयामा पनि छ। त्यसकारण मलाई के लाग्छ भने मेरो प्रिय पात्र सलिम रहेछ। किनभने, धेरै कथामा पनि आएको छ। सलिम भन्ने एउटा कथा नै लेखेको छु। ‘घामकिरी’मा पनि सलिम भन्ने पात्र छ। ‘घामकिरी’ अलि–अलि मेरो जीवनको घटना पनि हो। सलिम ‘रियल’ पात्र छ। राजु म आफैँ हो। मैले सलिमलाई धेरै कथामा प्रयोग गरेको छु। संस्मरणमा पनि ऊ आएको छ। मेरो सबैभन्दा प्रिय पात्र सलिम नै हो।
नमन गर्छु द्रौपदी र पेम्बालाई
महिला पात्रका हकमा मलाई मन पर्ने पात्र, मैले श्रद्धा गर्ने पात्र ‘उलार’ की द्रौपदी र ‘सल्लीपिर’की पेम्बा हुन्। पेम्बा संर्घषशील नारी हो। आफ्नो छोरालाई पढाउन दुःख गर्छे। काठमाडौँदेखि हिमालसम्म किताब पुर्याउन जुन संघर्ष गर्छे, त्यो संघर्षलाई जहिले पनि अभिनन्दन गर्न मन लाग्छ। मैले उसको त्यो संघर्ष सम्झेर नै त्यो उपन्यासको सुरुवात गरेको हुँ।
‘उलार’की द्रौपदी वर्षौंदेखि समाजमा थिचोमिचोमा परेकी पात्र हो। ऊ आफ्नो स्थितिबाट मुक्त हुन चाहन्छे। उसका आफ्ना रहर छन्, सपना छन्। उसलाई कसले देहव्यापारको पेशाबाट मुक्त गरिदेला ? प्रेमललवा गरिब नै भए पनि ऊसित जीवन बिताउने सपना देखिरहेकी हुन्छे। त्यो सपनाका कारण मलाई द्रौपदी मन पर्छ।
यी दुई नारी पात्रलाई म प्रेम गर्छु, नमन गर्छु। नेपाली समाजको एउटा चित्र र एउटा स्वरूप उनीहरूले बोकेका छन्।
नाम नखुलेका प्रिय पात्र
मेरो पहिलो उपन्यास ‘नांगो मान्छेको डायरी’ मा एउटा पात्र छ। उसको नाम छैन। म पात्र भन्ने छ। म पात्र बेरोजगार पात्र हो। पढेलेखेको छ, जागिर पाउँदैन। संघर्ष गर्छ। उसको परिवार छ। आर्थिक अभावले गर्दा उसको पूरा परिवार छिन्नभिन्न छ। छोरो ड्रग एडिक्ट बन्छ। छोरी वेश्यावृत्तिमा लाग्छे। श्रीमती पोइल जान्छे। हाकिमले उसको शोषण गर्छ। ऊ अनेक किसिमका दुःखमा जेलिएको पात्र छ। त्यो पात्रले मलाई अहिले पनि लखेटिरहेको हुन्छ।
त्यसको मलाई किन पनि मोह छ भने त्यो मेरो पहिलो उपन्यासको पहिलो नायक हो। घरभित्रै उसले आत्मसम्मान गुमाएको छ। उसका सपना र संघर्ष अनि समाज, राजनीति र साथीहरूले गर्ने असहयोग आदि सबै कुरालाई लिएर एउटा सानो उपन्यासमा प्रयोग गरेको त्यो म पात्रको अनुहार छ, नाम छैन। त्यस्तो पात्रले आफ्नो दुःख कतै भन्न पाउँदैन। देशका लाखौँ बेरोजगार र आर्थिक अभावमा जेलिएका मान्छेहरूको प्रतिनिधि पात्र हो ऊ।
त्यसपछि मलाई अर्को मन पर्ने पात्र ‘अतिरिक्त’ उपन्यासको पात्र हो। त्यसको पनि नाम छैन। सुरुका केही उपन्यासमा पात्रको नाम छैन । सुरुमा अलिकति प्रयोगको मोह पनि थियो मलाई। स्वैरकल्पनामा रुचि थियो। ‘अतिरिक्त’ २०५० सालमा साझा प्रकाशनबाट छापिएको हो। सम्भवतः मैले नेपाली साहित्यमा पहिलो पटक तेस्रोलिंगी पात्रबारे लेखेको हुँ।
समीक्षकहरूले पनि त्यसलाई तेस्रोलिंगी पात्रको विषय उठान गरेको पहिलो नेपाली उपन्यास मान्छन्। त्यसमा एक जना पात्र छ, जो शारीरिक ढाँचाले पुरुषजस्तो छ, तर ऊभित्र महिला छ। उसको संघर्ष छ। उसले घरसित गरेको संघर्ष, स्कुलमा गर्ने संघर्ष, कलेजमा ऊप्रति गरिने व्यवहार, त्यस्ता व्यवहारबाट उसलाई हुने छटपटी, पीडा, उसको मनभित्रको अन्तरद्वन्द्व र उसको सम्पूर्ण मनोविज्ञानसमा त्यो उपन्यास लेखेको हुँ। ऊ पात्रले सिंगो उपन्यासभरि संघर्ष गर्छ। पछि उसले लिंग परिवर्तन पनि गर्छ। त्यसपछिका समस्या आफ्ना किसिमका हुन्छन्।
त्यो पात्र काल्पनिक थिएन। त्यो पात्र ‘यार’ भन्ने संस्मरणमा आउछ। उसले ‘यार’ मा आएर आत्महत्या गर्छ। त्यो पात्रले मलाई नेपाली साहित्यमा एउटा फरक खालको पात्रको उठान गरेको आत्मसन्तुष्टि दिइरहन्छ। एउटा पीडा पनि दिइरहन्छ। अन्ततः उसको नियति के रहेछ भने उसले ती समस्याका कारण आत्महत्या नै गर्नुपर्यो। आत्महत्या गर्नुपर्यो भन्ने कुरा चाहिँ ‘यार’मा आउँछ। मैले लेख्दा चाहिँ उसले आत्महत्या गरेको थिएन। संघर्ष गरिरहेको थियो।
किताबप्रेमी फुर्वा
‘सल्लीपिर’मा किशोर पात्र फुर्वा छ। जो सपनामा अक्षरहरू देख्छ। उसलाई किताबप्रति मोह छ। उसको बाबुको जस्तो सधैँ हिमाल आरोहण गर्ने र जोखिमपूर्ण यात्रा गर्ने अनि जीवनको ठेगान नहुने किसिमको जीवन बिताउन चाहँदैन ऊ। तर, नियतिले उसलाई त्यस्तै–त्यस्तै ठाउँमा पुर्याउँछ। उसको किताब पढ्ने, अक्षर चिन्ने जुन सपना छ, त्यो सपना देखेको कारणले मलाई त्यो स्वप्नशील मन पर्छ। फुर्वाको एकदमै माया लाग्छ मलाई। उसको अनुहार सम्झिरहन्छु।
विशेषतः अन्तिमतिर फेरि भरिया भएर जाँदाको जुन द्वन्द्व छ, त्यसले मलाई छुन्छ। दुइटा फुर्वाहरूको भेट हुन्छ। एउटा काल्पनिक फुर्वा हुन्छ। एउटा लामा बन्न गुम्बामा पढ्न जाँदै छ। अर्को ढाक्रे भएर जाँदै छ। त्यसरी मैले ‘सल्लीपिर’मा एउटा सुन्दर दृश्य निर्माण गर्न खोजेको हुँ। फुर्वालाई म बिर्सन सक्दिनँ। किनकि, ऊ स्वप्नशील छ। कमसे कम ऊ सपना देख्छ। सपना देख्ने पात्रहरू मलाई प्रिय लाग्छन्।
आख्यानमा आफूलाई उपयोग गर्दा
मैले धेरै कथामा आफूलाई प्रयोग गरेको छु। आफूलाई म पात्र बनाएर प्रयोग गरेको छु। प्रायः नकारात्मक चरित्रमा मैले आफूलाई प्रयोग गरेको छु। ‘यार’मा धेरै ठाउँमा मैले आफ्ना नकारात्मकता, साथीभाइसँग गरेका खराब व्यवहार प्रकट गरेको छु। मैले यसो गर्नु हुँदैनथ्यो भनेर कतिपय साथीसँग क्षमा पनि मागेको छु। कथाहरूमा पनि मैले आफूलाई प्रयोग गरेको छु। त्यसैले एउटा प्रिय पात्र म आफैँ पनि हुँ।
हरेक पात्रमा लेखकले आफूलाई कतै न कतै व्यक्त गरेकै हुन्छ। हरेक व्यक्तिभित्र सकारात्मक र नकारात्मक दुइटा चरित्र रहेका हुन्छन्। मभित्र पनि केही राम्रा कुरा छन् भने केही नराम्रा कुरा पनि छन्। म कुनै आदर्श व्यक्ति होइन। आदर्श छवि लिएर बाँच्नु पनि हँुदैन। मभित्र प्रशस्त नकारात्मक कुरा छन् । जीवनमा कति फट्याइँ पनि गरियो। कति नकाम गरियोे। त्यसकारण मभित्र पनि विविध खालका चरित्र छन्।
मैले आफूलाई बेलाबेलामा इलैयामा पनि हालिरहेको हुन्छु। इलैयाले गरेका कतिपय उटपट्याङ काम मैले जीवनमा गरेको छ। प्रेमललवाको जीवनमा भएका कतिपय घटना मेरो जीवनमा पनि भएका छन्। लेखकले साहित्यको मेरो सिर्जनाको सबैभन्दा प्रिय पात्र म हुँ भन्नुपर्छ। मेरो प्रिय पात्रमध्ये म पनि एक पात्र हुँ, जसलाई मैले थुप्रै अप्रिय पात्रहरूमा स्थापित गरेको छु।
भौजीको उच्च मानवीय संवेदना
‘उलार’मा भौजी भन्ने पात्र छे। ऊ घाँस बेच्छे। उपन्यासमा त्यो पात्रको सानो भाग मात्रै उल्लेख छ। मलाई के लाग्छ भने त्यो पात्र उपन्यासभित्र एउटा महत्त्वपूर्ण चिज हो। उसले मानिसको संवेदना बोकेकी छ। विपन्न छे। घाँस काट्छे, घाँस बेच्छ। ऊ आफैँ समस्याहरूमा जेलिएको छे। तर, ऊभित्र मानवीय संवेदना उच्च छ। सहयोगको भाव कति बलियो छ भन्ने कुराको उत्कर्ष मैले देखाउन खोजेको हुँ। त्यो वर्गका बीचमा वर्गीय प्रेम हुन्छ, सद्भाव हुन्छ। त्यसको चरम रूप मैले त्यो भौजी भन्ने पात्रमा भेटेँ।
उपन्यासमा भौजी भन्ने पात्र एकैछिन आउँछे। तर, सिंगो उपन्यासभित्र प्रेमललवाले गरेका प्रयासभित्र कतै न कतै आइरहेकी हुन्छे। उपन्यासबाट एकछिनमा ओझेल भए पनि मेरो मनमा चाहिँ भौजी आइरहन्छे। मैले त्यो क्षणलाई एकदम भावुक भएर लेखेको हो। जहाँ वर्गको एउटा सामान्य घटनाक्रमबाट वर्गीय प्रेमको रूप कति उच्च हुन्छ भन्ने ‘फिलोसफी’लाई स्थापित गर्न खोजेको हो। उसले गरेको त २५ रुपैयाँको सहयोग हो। तर, त्यसको प्रतीकात्मक मूल्य धेरै छ। त्यसले प्रेमललवालाई हिम्मत दियो, आड दियो। पे्रमललवाभित्र त्यो पात्रप्रति कति सम्मानको भावना जागृत भएको होला ? प्रेमललवाले सम्मान गर्नु भनेको लेखकले गर्नु हो। त्यसकारण मलाई भौजी भन्ने पात्र प्रिय लाग्छ।
(उपेन्द्र अर्याल सँगकाे कुराकानीमा आधारित )


No comments: