शहीद हुन चाहन्थे विरही



उपेन्द्र अर्याल

शुक्रबार, ०४ माघ २०७५


राजनीतिक यात्रा

वरिष्ठ पत्रकार हरिहर विरहीको पुख्र्यौली थलो सिन्धुलीको खुर्कोट हो। छोराछोरी पढाउनका लागि आमाबुबाले जनकपुरमा घर बनाएका थिए। ६६ वर्षअघि जनकपुरमा उनको जन्म भएको हो। 

उनी बुबाकी माहिली श्रीमतीको माहिलो छोरा थिए। ‘आमाबुबाको कामनाविपरीत हामी तीनै भाइले राम्रो पढ्न सकेनौँ,’ विरही सम्झन्छन्। बाल्यकालदेखि नै पाठ्यक्रमभन्दा बाहिरका किताब पढ्न रुचि थियो उनलाई। 

स्कुल पढ्दा नै उनलाई राजनीतिमा चासो थियो। ‘नेपाली कांग्रेस र बीपी कोइरालाको नामबाट आकर्षित थिएँ,’ उनी स्मृतिमा पुग्छन्, ‘त्यसमाथि छिमेकी सरोजप्रसाद कोइराला र आफन्त बोधप्रसाद उपाध्याय दुवै जना नेपाली कांग्रेसका संघर्षशील क्रान्तिकारी नेताहरूको पनि ममाथि प्रभाव थियो।’ 

सानै उमेरमा उनी प्रजातन्त्रका लागि लडेका थिए। उनीसँग धेरै पटक जेल बसेको अनुभव छ। ‘१६ वर्षको उमेरमा राजा महेन्द्रको जनकपुर जानकी मन्दिरअगाडि राखिएको मूर्तिमा कालो मोसो दल्यौँ,’ उनी विगत सम्झन्छन्, ‘केशव बोहोरा र महन्थ ठाकुरको अग्रसरतामा यो कार्य भएको थियो। संयोगवश त्यसबेला प्रशासनले थाहा पाएन।’ 

त्यही साल भदौ २९ गते राजा महेन्द्रको जन्मजयन्तीको विरोध गर्दा भने उनी थुनामा परे। ‘त्यस दिन सरकारले गरेको कार्यक्रममा हामीले कालो झण्डासहित विरोध जुलुस निकल्यौँ,’ उनी सुनाउँछन्,  ‘प्रशासनले लाठी चार्ज गर्दै म, केशवराज कोइराला र महन्थ ठाकुरलाई गिरफ्तार गरी राजकाज मुद्दा लगाएर जलेश्वर जेलमा थुनामा राख्यो।’ 

प्रशासनले उनीहरूलाई एक वर्ष कैद र एक हजार रुपैयाँ जरिवाना तोक्यो। त्यसपछि उनी निरन्तर राजनीतिमा सक्रिय भए। विभिन्न सन्दर्भमा करिब चार वर्षजति जेल बसे।  ‘मेरै नेतृत्वमा २०२८ साल पुस १ गते कालो दिवस मनाउँदै राजा महेन्द्रको पुत्ला जलाउने काम भयो,’ उनी सम्झन्छन्, ‘त्यसबापत करिब डेढ वर्ष जेल बसेँ।’

सजाय भुक्तान गरेपछि उनी बीपी कोइरालालाई भेट्न भारतको बनारस गए। ‘बीपीले ‘तिमी यतै बस’ भन्नुभयो,’ उनी स्मृतिको पत्र उप्काउँछन्, ‘तर, मैले मानिनँ। म सोचेर आउँछु भनेर नेपाल फर्कें।’ 

त्यसबेला जनकपुरनजिकै भारतको सीतामाडीमा नेपाली कांग्रेसको कार्यालय थियो। इन्चार्ज थिए, बासु कोइराला। उनले ‘यतै आएर काम गर्नुहोस्’ भन्ने सल्लाह दिएपछि विरही तीन वर्ष निर्वासनमा रहे। ‘त्यहाँचाहिँ  सशस्त्र क्रान्तिको काम भए पनि बीपीले बढी लेखन कार्यमा लगाउनुभयो,’ उनले सुनाए, ‘त्यसबेला बनारसबाट तरुण पत्रिका निस्कन्थ्यो। 

सम्पादक हुनुहुन्थ्यो, शैलजा आचार्य। सम्पादक मण्डलमा म पनि थिएँ।’ २०३३ सालमा बीपीले मेलमिलाप नीति अपनाएपछि  स्मृतिनारायण चौधरी, रामचन्द्र तिवारीहरूसँग उनी पनि जनकपुर आए। ‘प्रशासनले हामीलाई जनकपुरबाटै गिरफ्तार गर्यो‍,’ उनले भने, ‘गिरफ्तारपछि रामेछाप जेलमा १८ महिना राख्यो।’ पछि २०३६ सालको जनमत संग्रहपछि नेपाली राजनीतिमा अलिक खुकुलोपन आएको उनी बताउँछन्।  

पत्रकारिता यात्रा 

जनमत संग्रहपछि उनले पत्रकारिता सुरु गरे। ‘पार्टीको काममा पूर्ण समर्पित भएर लाग्नेभन्दा जनमत सिर्जना गर्नतर्फ लागेँ,’ उनी सम्झन्छन्। जनमत संग्रहमा बहुदल पक्ष हार्दा उनी अत्यन्त दुःखी भएका थिए। ‘जनताले आफैँ मत गर्ने निर्णय गर्दा पनि निरंकुश व्यवस्थाको पक्षमा मतदान हुनु र बहुदल वा लोकतान्त्रिक पक्ष हारेको देख्दा म रोएँ,’ विरही सम्झन्छन्, ‘जनतामा शिक्षाको पर्याप्त पहुँच पुगेको छैन भन्ने मलाई लाग्यो। 

नागरिक चेतना जगाउन पत्रकारितामा लाग्नुपर्छ भन्ने लाग्यो। व्यावसायिक पत्रकार बन्ने उद्देश्य थिएन। राजनीतिक आन्दोलनलाई बल पुर्या‍उन पत्रकारिता प्रभावकारी हुन सक्छ भन्ने लागेर यता लागेँ।’ 

पञ्चायती संविधानको तेस्रो संशोधनले राजनीतिक वातावरण अलिकति खुकुलो बनाएको र त्यसलाई भरपूर प्रयोग गर्ने प्रयास गरेको उनी बताउँछन्। ‘त्यसबेला केही पत्रिका मात्र थिए, जसले आफूलाई पञ्चायती व्यवस्थाको विरुद्ध उभ्याएका थिए,’ उनी सुनाउँछन्,  ‘नत्र भने अधिकांश पत्रिकालाई प्रशासनले पालेको थियो।’ त्यसबेला सीधै राजा र पञ्चायती व्यवस्थाविरुद्ध केही लेख्न पाइँदैनथ्यो। ‘प्रतीकात्मक हिसाबले लेख्थ्यौँ,’ उनी सम्झन्छन्, ‘सुलसुले भन्ने पात्र खडा गरेर पनि लेख्यौँ।’ 

जनकपुर पढ्दादेखि नै ‘जनआकांक्षा’लगायत पत्रिकामा विरहीले लेख्न सुरु गरिसकेका थिए। काठमाडौँबाट निस्कने ‘राष्ट्रिय पुकार’ मा लेखेको अनुभव पनि थियो। तर, त्यतिबेलासम्म संस्थागत रूपमै सम्बद्ध भने थिएनन् उनी। ‘संस्थामै आबद्ध भएर चाहिँ साप्ताहिक मञ्चबाट सुरु गरेको हुँ,’ उनी भन्छन्, ‘त्यसलाई प्रशासनले कब्जा गरेपछि, हामीले ‘विमर्श’ साप्ताहिक निकाल्यौँ, जसको सम्पादक केशवराज पिँडाली हुनुहुन्थ्यो।’ 

यस साप्ताहिकलाई पनि रूपचन्द्र विष्टको एउटा कविता छापेको आधारमा प्रतिबन्ध लगाइयो। त्यसपछि उनले ‘जनज्योति’ भन्ने पत्रिका निकाले। त्यसको सम्पादक उनी आफैँ थिए। 

‘जनज्योतिमा मैले योगी नरहरिनाथको एउटा अन्तर्वार्ता छापेँ, जुन तत्कालीन सरकारको असन्तुष्टिमा केन्द्रित थियो,’ उनी सुनाउँछन्, ‘प्रशासनले हामी सबैलाई राजकाज मुद्दा लगायो। तर, मैले सबै जिम्मेवारी लिएका कारण अरूलाई छाड्यो, मचाहिँ थुनिएँ।’ उनी जेलबाट छुट्दा ‘जनज्योति’ प्रतिबन्धित नै थियो, तर ‘विमर्श’ को प्रतिबन्ध भने सर्वोच्च अदालतले फुकुवा गरिसकेको थियो। त्यसपछि विरहीले फेरि ‘विमर्श’ सुरु गरे। 

‘केशवराज पिँडाली प्रकाशक र म सम्पादक भएर विमर्श लामो समय चलायौँ,’ उनी भन्छन्, ‘पछि पत्रकारितामा नयाँ पुस्तको प्रवेश हुन थाल्यो। आर्थिक दृष्टिले साप्ताहिक पत्रिका सञ्चालन गर्न अप्ठ्यारो हँदै गयो।’ उनी थप्छन्, ‘म कसैसँग सम्झौता गरेर पत्रिका चलाउने पक्षमा थिइनँ। पत्रिका चलाउन सकिनँ। स्वतन्त्र पत्रकारका रूपमा काम गर्न थालेँ।’

थर्मसमा पत्रकारिता 

‘जनज्योति’को सम्पादक भएको बेलामा उनी भद्रगोल जेलमा थुनिएका थिए। ‘जेलमा अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओली, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनालीलगायत नेताहरू पनि थिए,’ उनी सम्झन्छन्, ‘जेलमा मैले मोहनचन्द्र अधिकारीको अन्तर्वार्ता लिएँ।’ उनले अन्तर्वार्तालाई ३२ पेजको कागजमा उतारे। ‘जेलभित्र लेखेँ तर कसरी बाहिर ल्याउने ? सबै कुरा गेटमा चेक गरेर मात्रै भित्र– बाहिर हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘मैले त्यसबेला घरबाट थर्मसमा दूध हालेर ल्याउन श्रीमतीलाई आग्रह गरेँ। 

त्यो थर्मसको पातो उप्काएर थर्मसभित्र त्यो अन्तर्वार्ता हालेर पठाएँ। पछि जेलबाट छुटेर आएपछि त्यो अन्तर्वार्ता ‘विमर्श’ साप्ताहिकमा दुई भाग गरेर छापेँ।’ जेलमा भएको मान्छेको अन्तर्वार्ता लिएको त्यो पहिलो घटना भएको उनको दाबी छ। ‘जेलभित्रको अन्तर्वार्ताले त्यसबेला सनसनी मच्चायो,’ उनी स्मरण गर्छन्, ‘तर, त्यसमा प्रायः सैद्धान्तिक कुरा भएकाले प्रशासनले कारबाही भने गर्न सकेन।’

कार्टुन छापेबापत सजाय 

कार्टुन छापेबापत पनि उनलाई प्रशासनले थुन्यो। ‘त्यसबेला टनकपुर काण्ड चलेको थियो,’  उनी सम्झन्छन्,  ‘एकीकृत महाकालीसम्बन्धी सम्झौता थियो। प्रतिपक्षी एमालेले सर्वोच्च अदालतमा मुद्दा हाल्यो। एकथरी ‘गिरिजाप्रसाद कोइरालाले देश नै बेचे’ भन्थे। अर्कोथरी ‘विकासका लागि हो भन्थे। सर्वाेच्चमा महिनौँ बहस भयो तर फैसला हुन सकेन।’ 

त्यही प्रसंगलाई लिएर कलाकार मोहनश्याम महर्जनले कार्टुन बनाए। कार्टुनमा एउटा नरिवलको रूख हुन्छ, रूखमा बाँदर बसेको हुन्छ। नरिवलमा लेखिएको थियो– टनकपुर। रूखको तल एकापट्टि कांग्रेस र अर्को पट्टि प्रतिपक्षी एमाले बसेर ‘यता खसाल’ भन्दै थिए। 

‘त्यसबेला प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय थिए,’ विरही कार्टुन प्रकरणबारे सुनाउँछन्, ‘प्रधानन्यायाधीशलाई बाँदरका रूपमा चित्रण गरियो भनेर अदालतले एक हप्ता कैद गर्ने, पाँच सय रुपैयाँ जरिवाना तिराउने तर सम्पादकले माफी मागे मिनाह गर्ने फैसला सुनायो। तर, उनले माफी मागेनन्। ‘मैले व्यावसाहिक दायित्व पूरा गरेको हो,’ उनी सम्झन्छन्, ‘अदालतको अपमान गरेको छैन, मर्यादा पनि नाघेको छैन। म माफी माग्दिनँ, बरु सजाय भोग्छु भनेर पत्रिकामा लेखँे। त्यसबापत जेल बसेँ’  ।

शहीद बन्ने धोको 

राजनीतिक यात्रामा सँगै हिँडेका उनका साथी रमेश कोइराला शहीद भएपछि उनलाई अफसोच भयो।  ‘सँगै काम गरेको साथी शहीद हुँदा, ऊचाहिँ शहीद हुन पायो, मचाहिँ पाइनँ भन्ने लाग्यो,’ उनी सम्झन्छन्, ‘त्यो बेला मलाई राजनीतिमा लागेर शहीद हुनु पो राम्रो रहेछ, सधैँ अमर भइने रहेछ, जसले पनि सम्झिने रहेछन् भन्ने लाग्थ्यो। 

त्यसबेला उनी भारतीय स्वतन्त्रता संग्रामका सेनानीहरू भगत सिंह, चन्द्र शेखर आजादहरूको जीवनी पढेर प्रभावित भएका थिए। उमेर काँचो थियो। ‘त्यो बेला साँच्चै शहीद बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनी सम्झन्छन्, ‘त्यसैले पार्टीले सकेसम्म कठोर काममा लगाओस् भन्ने चाहन्थेँ। 

विमान अपहरण हुँदा यस्तै काममा संलग्न हुन पाए हुन्थ्योजस्तो लाग्थ्यो। बमहरू नेपाल ल्याउने काममा त संलग्न भएँ। आफ्नै डेरामा पनि राखेँ। आफैँले प्रयोग गर्ने अवसर चाहिँ पाइनँ। अवसर पाएको भए सायद शहीदमा गणना हुन्थेँ होला।’ 

विभेद हटाउन ‘विरही’ उपनाम  

जनकपुरमा जन्मिएका उनी जनकपुरतिरै हुर्किएका हुन्। आमासँग बेला–बेला आफ्नो पुख्र्यौली घर सिन्धुली गइरहन्थे। त्यतिबेला उनका बुबालाई गाउँमा साहिँला जिम्वाल भन्थ्ये। उनलाई पनि जिम्वालको छोरो भनिन्थ्यो। 

‘जिम्वाल अथवा त्यसबेलाको सामन्तीकै छोरो भए पनि मलाई जातपात र विभेद फिटिक्कै मन पर्दैनथ्यो’, उनी सुनाउँछन्, ‘घरमा हलो जोत्न वा अरू काम गर्ने मान्छेहरू आउँथे। 
उनीहरूलाई घरबाहिरै भात दिइन्यो। भित्र पस्न पाउँदैनथे। बरु कुकुरचाहिँ भित्र पसिरहेको हुन्थ्यो।’ उनकी आमा जनकपुरतिरकी भएकाले उनलाई मधेसिनी बज्यै भन्थे गाउँमा। 

‘आमा अलिक उदार हुनुहुन्थ्यो,’ उनी सम्झन्छन्, ‘उदार भन्नाले दलितहरूलाई अलिक माया गर्ने खालको हुनुहुनथ्यो।’ यी सबै विभेदविरुद्ध हरिहर आचार्यले प्रतीकात्मक विरोध गरे, जातका सट्टा उपनाम लेखेर। उनी हरिहर विरही भए। ‘म समानताको पक्षमा थिएँ,’ उनी सुनाउँछन्, ‘मलाई लाग्यो, थरले गर्दा मान्छे जन्मैदेखि भेदभावमा बाँधिन्छ। त्यसपछि मैले विरही उपनाम राखेँ।’  

No comments:

Powered by Blogger.